काठमाडौँ । भ्रामक प्रचार प्रसार गरी बिमा बिक्री गर्न नपाउने भन्दै नियामक नेपाल बीमा प्राधिकरणले सूचना नै निकालेर सचेत गराउँदा पनि नेपाल लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरुले सो निर्देशनको अटेरी गर्दै भ्रामक प्रचार प्रसारलाई निरन्तरता दिएका छन् । फेसबुक, टिकटकजस्ता सामाजिक संजालमा अभिकर्ताहरुले भ्रामक प्रचार गरेर ‘मिस सेल’ गरिरहेको पाइएको हो ।
प्राधिकरणको निर्देशन अटेर गर्दै नेपाल लाइफका अभिकर्ताहरुले बीमामा लगानी गर्दा डबल रकम पाइने भन्दै प्रचार प्रसार गरिरहेको पाइएको छ । यस अलावा बीमा शुल्क रकममा छुट पाइने, मुद्दती निक्षेपमा पाइने ब्याजभन्दा धेरै फल पाइने वा त्यस्ता फलको ग्यारेन्टी हुने जस्ता शब्दहरु राखेर भ्रम छरिएको पाइएको छ । यस्ता शब्दहरु प्रयोग गरेर, वा यस्ता प्रचार गरेर बीमा गराउन नेपाल बीमा प्राधिकरणले रोक लगाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुमध्ये एक पक्षले नेपाल लाइफले बीमाका नाममा ठगी गरेको आरोप लगाईरहँदा त्यसको बचाउ गर्ने नाममा अर्काथरी अभिकर्ताले प्राधिकरणको निर्देशनको उल्लङ्घन गरेको पाइएको छ ।
‘बदमासी नरोके, लाइसेन्स खारेजी’
यता जति निर्देशन दिँदा पनि अटेरी गर्ने गरेपछि नेपाल बीमा प्राधिकरणले प्राधिकरणको निर्देशन विपरित गलत र भ्रामक प्रचार गरी बीमा गराउनेहरुलाई कारवाही गर्ने पुन: चेतावनी दिएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई लिखित र मौखिक गरी दुवै खाले चेतावनी दिईसकेको जनाएको छ । तर यति हुँदा पनि नेपाल लाइफका अभिकर्ताहरुले जथाभावी भ्रम छरेर बीमामा ‘मिस सेल’ गर्न छाडेका छैनन् ।
समस्या एकातिर, दोष मिडियालाई !
अहिले नेपाल लाइफका अभिकर्ताहरु प्रष्ट दुई धारमा उभिएका छन् । एकाथरी अभिकर्ताहरुले बीमाका नाममा नेपाल लाइफको बदमासीले सिमा नाघेको भन्दै कम्पनीको भण्डाफोर गरिरहेका छन् भने अर्कोतर्फ, अर्काथरी बीमा अभिकर्ताहरु नेपाल लाइफको बचाउमा हुने नहुने प्रचार गरिरहेका छन् । यतिसम्मकि ग्रुप नै बनाएर अरुलाई गाली गर्ने, छाडा बोल्ने, असभ्य हर्कत देखाउने कामसमेत नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुले गरिरहेका छन् ।
आफ्ना अभिकर्ताहरुलाई मिलाउनुको साटो कम्पनी भने यसबारे समाचार लेख्ने मिडियाहरुलाई दोष देखाएर उम्किने प्रयास गरिरहेको छ । यतिसम्म कि बीमा अभिकर्ताले आफ्नै कम्पनीको फेक आइडीसमेत बनाएर गलत प्रचार प्रसारसमेत गरिरहेको पाइएको छ ।


