काठमाडौं । हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि लायन्स अन्तर्राष्ट्रिय मल्टिपल ३२५ ले सरकारसँग सहकार्य गर्ने भएको छ। मल्टिपल काउन्सिल अध्यक्ष लायन केशरबहादुर भण्डारीको नेतृत्वमा बाढी प्रभावित क्षेत्रमा तत्काल राहत परिचालनसँगै दीर्घकालीन पुनर्निर्माणमा समेत सहयोग गर्ने निर्णय भएको हो। लायन्स अन्तर्राष्ट्रिय मल्टिपल ३२५ ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग जम्मा गरिसकेको अध्यक्ष भण्डारीले जानकारी दिएका छन्। त्यसका अतिरिक्त मल्टिपल डिष्ट्रिक्टअन्तर्गत रहेका १५ वटा डिष्ट्रिक्टबाट कम्तीमा १ करोड रुपैयाँ थप राहत रकम संकलन गरी बाढी प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरिएको छ।
१५ डिष्ट्रिक्टबाट १ करोड राहत संकलन
राहत अभियानअन्तर्गत प्रत्येक डिष्ट्रिक्टबाट न्यूनतम ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। सोहीअनुसार विभिन्न डिष्ट्रिक्टले रकम संकलन सुरु गरिसकेका छन्। डिष्ट्रिक्ट ३२५ एफले भने ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ मल्टिपल डिष्ट्रिक्टको खातामा जम्मा गरिसकेको जनाइएको छ। १५ वटै डिष्ट्रिक्टबाट रकम संकलन भएपछि कम्तीमा १ करोड रुपैयाँ प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा परिचालन गर्ने लायन्सको योजना छ।
राहतसँगै उद्धार र अस्थायी आवासमा सहयोग
लायन्सले प्रभावित क्षेत्रमा स्थानीय संयन्त्रसँग समन्वय गरी खाना वितरण, उद्धार, त्रिपाल तथा लत्ताकपडा व्यवस्थापनलगायतका तत्कालीन राहतका काम अघि बढाइरहेको जनाएको छ। यसैगरी राहत तथा पुनर्निर्माणका लागि २ लाख अमेरिकी डलर सहयोगसमेत स्वीकृत भइसकेको संस्थाले जनाएको छ। सरकारले आवश्यकता र प्राथमिकताका आधारमा क्षेत्र निर्धारण गरिदिएमा बाढी प्रभावित क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी तथा अन्य आवश्यक संरचनाको निर्माण र पुनर्निर्माणमा समेत सहकार्य गर्न तयार रहेको अध्यक्ष भण्डारीले बताएका छन्।
नेपालमा ५५ वर्षदेखि मानवीय सेवामा लायन्स
सन् १९१७ मा स्थापना भएको लायन्स अन्तर्राष्ट्रियले स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा विश्वभर काम गर्दै आएको छ। नेपालमा भने लायन्सले विगत ५५ वर्षदेखि विभिन्न सामाजिक तथा मानवीय अभियान सञ्चालन गर्दै आएको जनाएको छ। नेपालमा अन्धोपन निवारण, स्वास्थ्य सेवा विस्तार तथा विपद् व्यवस्थापनका क्षेत्रमा लायन्सको योगदान रहेको संस्थाको दाबी छ। विभिन्न आँखा अस्पतालमा उपकरण सहयोग तथा स्तरोन्नति, करिब १ करोड बालबालिकाको दादुरा–रुबेला खोप अभियानमा सहकार्य, कोरोना महामारीका क्रममा अक्सिजन, पीपीई र मास्क वितरण तथा आइसोलेसन केन्द्र सञ्चालनलगायतका काम गरेको लायन्सले जनाएको छ।
त्यस्तै, अत्याधुनिक ब्लड बैंक स्थापना तथा २०७२ सालको भूकम्पपछि करिब ४५ करोड रुपैयाँ लागतमा १८ वटा विद्यालय पुनर्निर्माण गरिएको संस्थाले जनाएको छ। जाजरकोट भूकम्पपछि विद्यालय पुनर्निर्माणको कामसमेत जारी रहेको बताइएको छ। अन्धोपन निवारणमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले लायन्सलाई सम्मानसमेत गरिसकेको छ।
पुनर्निर्माणमा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता
लायन्सले आगामी दिनमा विपद् व्यवस्थापनसँगै स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा सरकारसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ। अध्यक्ष भण्डारीले विपद्को समयमा सरकारसँग समन्वय गरी प्रभावित नागरिकसम्म राहत पुर्याउनुका साथै आवश्यकताअनुसार पुनर्निर्माणमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लायन्सको राहत अभियान तत्कालीन उद्धार र राहतमा मात्र सीमित नभई प्रभावित नागरिकको जीवन पुनः सामान्य अवस्थामा फर्काउन आवश्यक पुनर्निर्माणसम्म केन्द्रित हुने बताइएको छ।


