काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल बैंक लिमिटेडले खुद नाफा ११.०८ प्रतिशतले घटेको छ । तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले गत वर्ष यही अवधिसम्म २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
तेस्रो त्रैमासम्म बैंकको सञ्चालन मुनाफा २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। जुन गत वर्ष यही अवधिसम्म ३ अर्ब १२ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २१ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७२ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १९ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
यो त्रैमाससम्म बैंकले १ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब १७ अर्ब निक्षेप संकलन गरी ९२ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकको रिजर्भ ६.४९ प्रतिशतले बढेको छ। गत वर्ष १३ अर्ब ३१ करोड रुपैयाँ रहेको रिभर्जमा बढेर १४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा घटेको छ । गत वर्ष २.७१ प्रतिशत रहेको निष्क्रिय कर्जाको दर घटेर २.६४ प्रतिशतमा झरेको छ । बैंकको आधार दरमा भने बढेको छ। गत वर्ष ६.९२ प्रतिशत रहेको आधार दर बढेर समीक्षा अवधिमा ७.४९ प्रतिशत पुगेको छ । बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस)२८.१३ रुपैयाँ रहेको छ भने पीई रेसियो ९.२५ गुणा रहेको छ ।