काठमाडौँ। एनएमबि बैंकले शून्य मौज्दात खाता बन्द गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै १० वर्षदेखि कारोबार नभएका शून्य मौज्दात खाता बन्द गर्ने भएको हो।
एनएमबी बैंकले विगत १० वर्षदेखि शून्य मौज्दातमा रही कुनै पनि कारोबार नभएका खातावालालाई आफ्नो खाता अद्यावधिक गर्न आग्रह गरेको छ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार १० वर्षदेखि शून्य मौज्दातमा निष्क्रिय रहेका खाताहरू सार्वजनिक सूचना प्रकाशित गरी बन्द गर्न सकिने व्यवस्था भएकाले बैंकले यस्तो सूचना जारी गरेको हो।
बैंकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी खाता अद्यावधिक तथा सञ्चालन गर्न अनुरोध गरेको छ। तोकिएको अवधिभित्र खाता सञ्चालन नभए त्यस्ता खाताहरू बन्द गरिने बैंकले जनाएको छ।
साथै, विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका शून्य मौज्दात खाताहरूको विवरण बैंकको वेबसाइटमा पनि उपलब्ध गराइएको बैंकले जनाएको छ।


