काठमाडौँ। नेपाल राष्ट्र बैंकले थप संरचना स्थापना गरेको छ । नयाँ प्रशासनिक संरचना ‘तथ्यांक महाशाखा’बाट सम्पूर्ण वित्तीय तथा मौद्रिक तथ्यांकलाई एकीकृत, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्य राखिएको छ ।
राष्ट्र बैंकको नयाँ महाशाखाले आवश्यक समन्वय गरी तथ्यांक संकलन, प्रमाणीकरण, विश्लेषण र प्रकाशनलाई थप प्रभावकारी बनाउने अपेक्षा राखेको छ ।
मौद्रिक नीति निर्माण, वित्तीय स्थायित्व मूल्यांकन तथा जोखिम पूर्वानुमानका लागि विश्वसनीय र रियल-टाइम डाटाको आवश्यकता बढ्दै गइरहेको सन्दर्भमा नयाँ महाशाखा स्थापना गरिएको हो ।
गभर्नर डा. विश्वनाथ पौडेलको प्रत्यक्ष निगरानीमा रहने तथ्यांक महाशाखाले वित्तीय तथा मौद्रिक तथ्यांकलाई एउटै प्लेटफर्ममार्फत व्यवस्थापन गर्नेछ । नयाँ संरचनाले दोहोरोपना हटाउने, तथ्यांकको गुणस्तर सुधार हुने तथा समयमै प्रतिवेदन सार्वजनिक गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
केन्द्रीय बैंकले पछिल्लो समय डिजिटल रिपोर्टिङ प्रणाली, सुपरिवेक्षण प्रविधि र नियामकीय प्रविधि प्रयोगलाई विस्तार गर्दै आएको छ । सोहीअनुसार अहिले नयाँ प्रशासनिक संरचना स्थापना गरिएको हो ।


