- बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको हो । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा साढे ३ प्रतिशतले बढी हो ।
बैंकले देव विकास बैंकलाई प्राप्ती गरी गत आवको अन्तिम त्रैमासमा एकीकृत कारोबार थालेको थियो । मर्जर प्रकृयामा सामेल भएकाले बैंकका सेयरधनीले बोनस सेयरमा कर तिर्नु नपर्ने भएको छ । यसो हुँदा लगानीकर्ताले १४ प्रतिशत लाभांश पूरै हात पार्ने भएका छन् । बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
देव विकास बैंकलाई प्राप्ति गरेपछि कुमारी बैंकले आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब २२ करोड ६५ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै वितरण योग्य नाफा भने ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी १२.७७ रुपैयाँ कायम भएको थियो । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ भने १३६.४७ रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा ५० प्रतिशत धेरैले वृद्धि हुँदा दुवै १ खर्व १६ अर्व माथि पुगेको थियो । यस्तै बैंकको जगेडा कोष पनि ८२ प्रतिशतले वृद्धि भई ३ अर्व ८२ करोड रुपैयाँ कायम भएको थियो ।