नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २५ करोड रुपैयाँ लगानी गर्ने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको २५ करोड २६ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो । 
बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । बैंकले उक्त रकम २०७७ मंसिर २ गतेदेखि २०७८ कार्तिक ३० गतेसम्म अर्थात् ३६५ दिन अवधिको लागि मुद्दती निक्षेप राख्न लागेको हो ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २० करोड २१ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ७८ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड २७ लाख रुपैयाँ गरी कूल २५ करोड २६ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने व्याजदरसमेत उल्लेख गरी गतेसम्ममा बोलकबोल पेश गनुपर्ने भएको छ । 
यस्तै कार्तिक १८ सम्म मात्र बोलकबोल पेश गर्न पाउनेछ । यसरी राखिएको मुद्दती निक्षेपको व्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा  भएको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनु पर्नेछ।
त्यसैगरी निक्षेप लिनको लागि निष्कृय कर्जा र कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्नेछ भने खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनु पर्नेछ । 
यस्तै कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने र शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनु पर्नेछ । 
यसैगरी समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पुरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको सेयर जारी गरिसकेको हुनुपर्ने जस्ता सर्तहरु तोकिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्