काठमाडौँ। वाणिज्य बैंकहरुले निर्माण क्षेत्रमा कर्जा लगानी बढाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ४ महिनासम्म वाणिज्य बैंकहरूले २ खर्ब ११ अर्ब १४ करोड रुपैयाँ निर्माण क्षेत्रमा कर्जा लगानी गरेका छन्।
अघिल्लो आर्थिक वर्ष २०८१-८२ को कात्तिकसम्म निर्माण क्षेत्रमा बैंकहरुबाट १ खर्ब ८७ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्माण क्षेत्रमा बैंकहरुको कर्जा लगानी १२.३७ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा निर्माण क्षेत्रमा १४ वटा बैंकको कर्जा लगानी बढेको छ भने ६ वटाको घटेको छ। निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी नबिल बैंकले २५ अर्ब ९१ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २४ अर्ब १२ करोड ५१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा कर्जा प्रवाह ७.४१ प्रतिशतले बढेको छ।
दोस्रोमा धेरै कर्जा प्रवाह गर्ने बैंकमा लक्ष्मी सनराइज बैंक रहेको छ। बैंकले २२ अर्ब ७० करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १८ अर्ब १० करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको कर्जा लगानी २५.४३ अर्बले बढेको छ।
यता एनआईसी एसिया बैंकले १६ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ निर्माण क्षेत्रमा कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिसम्म २६.६४ प्रतिशतले बढेर २१ अर्ब ९ करोड १३ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षामा कुमारी बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंकको कर्जा लगानी घटेको छ।
बाँकी १५ वटा बैंकले कर्जा लगानी बढाए पनि वृद्धिदरका हिसाबले सिटिजन्स बैंकको सर्वाधिक ३९.८७ प्रतिशत देखिएको छ भने नेपाल एसबीआई बैंकले निर्माण क्षेत्रमा सबैभन्दा कम कर्जा प्रवाह गरेको छ।



