काठमाडौं । नेपाल राष्ट्र बैंकले अनधिकृत वित्तीय कारोबारबारे तुरुन्त जानकारी दिन आम जनतालाई आग्रह गरेको छ। बैंकले एक सूचना जारी गर्दै डिजिटल कारोबारसँगै वित्तीय ठगीका नयाँ र जटिल तरिका बढ्दै गएकाले सजग रहन अपिल गरेको हो।
सूचनामा भनिएको छ, ‘जति डिजिटल सेवा अगाडि बढ्दैछ, त्यति नै वित्तीय अपराधका नयाँ रूपहरु देखिन थालेका छन्। यदि तपाईंले आफ्नो मोबाइल, इमेलमा आएको ओटीपी, पासवर्डजस्ता संवेदनशील जानकारी अरूसँग बाँडेमा, ती व्यक्तिहरूले तपाईंको खाताबाट अनधिकृत कारोबार गर्न सक्छन् र तपाईं ठगीमा पर्न सक्नुहुन्छ।’
राष्ट्र बैंकका अनुसार कुनै अनधिकृत कारोबार देखिएमा सम्बन्धित बैंक वा वित्तीय संस्थाको टोल फ्री नम्बर वा ग्राहक सेवा केन्द्रमा तुरुन्त जानकारी दिनुपर्छ। किनभने ठगहरू छोटो समयमा धेरै खातामा रकम सार्ने भएकाले ढिलाइ गरेमा त्यस्ता कारोबारको पहिचान गर्न गाह्रो हुन्छ।
बैंकले भनेको छ, ‘यदि तपाईं अनधिकृत कारोबारको शिकार हुनुभएको छ भने तुरुन्त जानकारी दिएर सम्भावित थप नोक्सानीबाट आफूलाई जोगाउन सकिन्छ।’
राष्ट्र बैंकले सबै ग्राहकलाई अनधिकृत गतिविधि देखिएमा छिटो प्रतिक्रिया जनाउन आग्रह गर्दै वित्तीय सुरक्षामा सघाउन सचेत गराएको छ। सूचनासहित: