काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्च अदालतमा पौडेलको नियुक्ति बदरको माग गर्दै गत शुक्रबार पेस गरेको रिट मंगलबार दर्ता भएको हो ।
उक्त रिट अधिवक्ताद्वय अनन्तराज लुइँटेल र विशाल थापाले दर्ता गरेका हुन् । उनीहरूले गभर्नरको नियुक्ति गैरकानुनी भएकाले नोटमा हस्ताक्षर गर्ने कार्य रोक्नसमेत अन्तरिम आदेशको माग गरेका छन् ।
यसअघि पनि रिटमा गभर्नर पौडेलको नियुक्ति नै ऐन विपरीत भएको दाबी गरिएको थियो भने गभर्नर बन्न उनको शैक्षिक योग्यता समेत नपुग्ने दाबी गरिएको थियो ।
यसअघि उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको रूपमा कार्य गरेका थिए। उनको शैक्षिक योग्यता शाङ्घाईबाट इन्जिनियरिङमा स्नातक र क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीबाट कृषि र स्रोत अर्थशास्त्रमा स्नातकोत्तर र पीएचडी समावेश छ।