काठमाडौँ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा लगायतले नवनियुक्त गभर्नरको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।
रिटमा गभर्नर पौडेलको नियुक्ति नै ऐन विपरीत भएको दाबी गरिएको छ भने गभर्नर बन्न उनको शैक्षिक योग्यता समेत नपुग्ने दाबी गरिएको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको हो ।
लामो समयको विवादपछि काठमाडौँ विश्वविद्यालयका प्राध्यापक विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका हुन्। उनी अर्थशास्त्री र शैक्षिक क्षेत्रका प्रतिष्ठित व्यक्ति हुन्।
यसअघि उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको रूपमा कार्य गरेका थिए। उनको शैक्षिक योग्यता शाङ्घाईबाट इन्जिनियरिङमा स्नातक र क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीबाट कृषि र स्रोत अर्थशास्त्रमा स्नातकोत्तर र पीएचडी समावेश छ।