गभर्नर नियुक्तिमा ढिलाइप्रति संसदमा आलोचना, बजेटमा विकासमुखी कार्यक्रम ल्याउन सांसदहरूको जोड

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेट उच्च आर्थिक वृद्धिदर हासिल गर्ने र जनताको विकास आकांक्षा सम्बोधन हुने गरी ल्याउनुपर्नेमा जोड दिएका छन्। साथै, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति पनि उनीहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्।

विशेष समयमा बोल्दै सांसदहरूले मौलिक हकको कार्यान्वयन, पूर्वाधार विकास, उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जना जस्ता विषयलाई बजेटको केन्द्रमा राख्नुपर्ने धारणा राखे।

नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल निर्माणका लागि अनुमान गरिएको तीन अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरे।

एमाले सांसद जुली कुमारी महतो (महासेठ) ले जनताको विकास आकांक्षा सम्बोधन हुने कार्यक्रमहरू समेट्नुपर्नेमा जोड दिँदै, रासायनिक मल कारखाना स्थापना, बन्द कारखाना पुनः सञ्चालन र नयाँ उद्योग खोल्न आवश्यक बजेट सुनिश्चित गर्नुपर्ने बताइन्।

माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले दलित समुदायको उत्थानका लागि ठोस कार्यक्रम आगामी नीति तथा कार्यक्रममा नल्याइएको भन्दै असन्तुष्टि जनाए। साथै, राष्ट्र बैंकको गभर्नर पद लामो समयसम्म खाली रहनु अर्थव्यवस्थाप्रति राज्यको गैरजिम्मेवारीपन देखिएको टिप्पणी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संविधानले प्रत्याभूत गरेका नागरिक अधिकार सुनिश्चित हुने गरी बजेट आउनुपर्ने धारणा राखे। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिसा नेपालीले राज्यको स्रोतमा सबै नागरिकको समान पहुँच सुनिश्चित गरिनुपर्ने माग गरिन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्