prabhu

ग्लोबल आइएमई ह्याकाथनको विजेता ‘क्याल्कुलुस’ टिम बन्यो, १ लाख नगद पुरस्कार जित्न सफल

काठमाडौँ। ग्लोबल आइएमई बैंकले आयोजना गरेको ‘ग्लोबल आइएमई एआई-एमएल ह्याकाथन’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) मा आधारित यस प्रतियोगिता नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापन तहका प्रतिनिधिहरु तथा विभिन्न संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति थियो। बैंकले प्रविधिमा चासो राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ सेवा विकासमा नवीनतम प्रविधिहरुको प्रयोगका लागि यो ह्याकाथन आयोजना गरेको हो। प्रतियोगिताका लागि २१ टोलीलाई अनलाइन पेपर प्रिजेन्टेशन चरणमा छनोट गरिएको थियो। ती टोलीहरू काठमाडौं, पोखरा, महेन्द्रनगर, काभ्रे, धरान, बिरगंज लगायतका स्थानबाट सहभागी भएका थिए।

ह्याकाथनको विजेता टिम ‘क्याल्कुलुस’ ले पहिलो स्थान प्राप्त गर्दै नगद रु १ लाख पुरस्कार जित्न सफल भयो। दोस्रो स्थान हासिल गर्ने टोली ‘डब्लुडिके’ ले रु ७५ हजार, तेस्रो हुने ‘लार्के पास’ ले रु ५० हजार, चौथो र पाँचौं स्थान हासिल गर्ने ‘टिम जनकपुर’ र ‘फ्रडेक्स’ ले जनही रु १५ हजार पुरस्कार प्राप्त गरे। साथै, उत्कृष्ट प्रस्तुतीको आधारमा ‘डिजीविट्स’ टोलीलाई वेष्ट प्रेजेन्टेसन विधामा रु १५ हजारले पुरस्कृत गरिएको छ।

प्रतियोगिताका विजयी टोलीहरुलाई प्रमुख अतिथि डेपुटी गभर्नर मिश्रले पुरस्कार हस्तान्तरण गरे। कार्यक्रममा बोल्दै मिश्रले नेपालमा एआई र एमएल सम्बन्धी पहिलो ह्याकाथन आयोजना गरेकोमा बैंकलाई धन्यवाद दिंदै यस्ता कार्यक्रमहरूले युवाहरुलाई नयाँ अवसर दिने र बैंकिङ सेवामा प्रविधिको प्रभावकारी प्रयोगलाई बढावा दिने विश्वास व्यक्त गरेका छन् ।

बैंकका सीईओ सुरेन्द्रराज रेग्मीले ह्याकाथनले डिजिटल बैंकिङमा देखिने भविष्यका सम्भावनाहरु पहिचान गर्न र त्यसका चुनौतीहरूको समाधान खोज्न सहयोग गर्ने विश्वास व्यक्त गरे। साथै, उत्कृष्ट टोलीहरुसँग भविष्यमा सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए।

ग्लोबल आइएमई बैंक हाल देशभर ७७ वटै जिल्लामा ३५४ शाखा, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित ११०० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ। साथै, बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, कतार, यूएई लगायतका मुलुकहरूबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ।

हालैमा बैंकले ग्लोबल फाइनान्सको’बेष्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको उपाधि समेत प्राप्त गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

governer
laghubitta
top 7 banking news