prabhu

नेपाल राष्ट्र बैंक ७१औं वर्षमा प्रवेश, सबै स्थानीय तहमा बैंकिङ पहुँच र डिजिटल कारोबारमा उल्लेख्य प्रगति

काठमाडौं । नेपाल राष्ट्र बैंक ७१ औं वर्षमा प्रवेश गरेको छ। २०१३ साल वैशाख १४ गते स्थापना भएको केन्द्रीय बैंकले आज ७०औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ। वार्षिकोत्सव मनाउँदै गर्दा राष्ट्र बैंकले देशका सबै ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार सम्पन्न गरेको छ, जुन बैंकिङ पहुँच वृद्धिको ऐतिहासिक उपलब्धि हो।

राष्ट्र बैंकका अनुसार, वित्तीय पहुँच विस्तार तथा समावेशी र दिगो बैंकिङ प्रणाली निर्माणको पहलस्वरूप २०८१ सालमा बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडको शाखा स्थापना भएसँगै सम्पूर्ण स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति कायम भएको हो।

यस अवधिमा राष्ट्र बैंकले डिजिटल भुक्तानी क्षेत्रमा पनि उल्लेखनीय फड्को मारेको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट डिजिटल कारोबारको परिमाण निरन्तर वृद्धि हुँदै गएको छ। प्रविधिको प्रयोगले बैंकिङ तथा वित्तीय क्षेत्रलाई थप सुरक्षित, सक्षम र पहुँचयोग्य बनाउन सहयोग पुर्याएको छ।

साथै, राष्ट्र बैंकले बैंकिङ तथा वित्तीय प्रणालीको स्थायित्व र तरलता प्रवर्द्धन गर्ने, भुक्तानी प्रणालीलाई सुरक्षित र दक्ष बनाउने तथा बैंक तथा वित्तीय संस्थाहरूको नियमन, निरीक्षण र सुपरिवेक्षण कार्य मजबुत बनाउँदै आएको छ। यिनै प्रयासहरूले समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धिमा योगदान पुर्याएको छ।

७० औं वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंककी कार्यबाहक गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले शुभकामना सन्देश दिँदै राष्ट्र बैंक सधैँ मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सुरक्षित तथा सक्षम भुक्तानी प्रणालीको सबलीकरण र वित्तीय सेवाको पहुँच विस्तारमा प्रतिबद्ध रहने स्पष्ट पारिन् । उनले मौद्रिक तथा विदेशी विनिमय नीतिहरू प्रभावकारी रूपमा निर्माण र कार्यान्वयन गर्दै अर्थतन्त्रको दिगो विकासमा राष्ट्र बैंकले निरन्तर योगदान गर्ने बताइन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै