काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्यले राजिनामा दिएका छन् । जसका कारण नयाँ गभर्नरको नियुक्ति प्रक्रिया अनिश्चित बनेको छ । समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले पदबाट राजिनामा दिएका हुन् । उक्त समितिको संयोजक अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।
सरकारले गत चैत १८ गते गभर्नर सिफारिस समिति गठन गरे पनि हालसम्म समितिको बैठकसमेत बस्न नसकेको अवस्था थियो । राष्ट्र बैंक ऐनअनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्ति गर्नुपर्ने व्यवस्था भए पनि प्रक्रिया अघि नबढेकोमा भट्टराई असन्तुष्ट थिए । स्रोतका अनुसार नियुक्ति प्रक्रियामा राजनीतिक हस्तक्षेप बढेपछि उनले राजिनामाको निर्णय गरेका हुन् ।
हाल नेकपा एमाले र नेपाली काँग्रेसबीच सत्ता बाँडफाँटका विषयमा सहमति नहुँदा गभर्नर नियुक्ति प्रक्रिया थप जटिल बनेको छ । सिफारिस समितिका सदस्यले नै राजिनामा दिएपछि तत्काल गभर्नर नियुक्त हुने सम्भावना झनै टरेको देखिन्छ ।
यसअघि गभर्नर पद काँग्रेसको भागमा पर्ने र शेर बहादुर देउवाका उम्मेदवार डा. गुणाकर भट्टलाई नियुक्त गर्ने विषयमा एमाले–काँग्रेसबीच समझदारी भएको चर्चा थियो । तर, डा. भट्टको योग्यतामाथि सर्वोच्च अदालतमा रिट दर्ता भएपछि एमालेले सो विवाद देखाएर प्रक्रिया लम्ब्याएको काँग्रेस नेताहरूको आरोप छ।