काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सहमति भएको छ। सोही सहमतिअनुसार देउवाले गभर्नरका लागि डा. गुणाकर भट्टको नाम अघि सारेका छन् ।
प्रधानमन्त्री ओली र सभापति देउवाले भट्टलाई गभर्नर बनाउने सहमती गरेपछि सिफारिस समितिको बैठक बस्ने भएका छन्। समितिको सबै काम औपचारिक हुने भएको छ।
उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ। उक्त समितिमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल पनि सदस्य छन्।
गभर्नर नियुक्तिका लागि उमेर हदसम्बन्धी मापदण्डमा गरिएको संशोधनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेको छ। यस निर्णयपछि गभर्नर नियुक्तिको प्रक्रिया क्लाईमेक्समा पुगेको छ।