बैंकको ढुकुटीमै २७ करोडका नक्कली नोट !

काठमाडौँ। भारतको उत्तर प्रदेशस्थित सहारनपुरमा पञ्जाब नेसनल बैंक (PNB) को सुरक्षित ‘करन्सी चेस्ट’मै करोडौँ रुपैयाँका नक्कली नोट भेटिएपछि बैंकिङ क्षेत्रमा हलचल मच्चिएको छ। सुरुमा भारतीय ७ करोड ४० लाख रुपैयाँ अर्थात् करिब ११ करोड ८४ लाख नेपाली रुपैयाँ बराबरका नक्कली नोट फेला परेकोमा थप जाँच हुँदै जाँदा रकम करिब १७ करोड भारतीय रुपैयाँ अर्थात् २७ करोड २० लाख नेपाली रुपैयाँ पुगेको बताइएको छ।

घटना त्यतिबेला बाहिर आएको थियो, जब बैंकले भारतीय रिजर्भ बैंक (RBI) को जयपुरस्थित चेस्टमा पठाएको करिब ११ करोड ५० लाख भारतीय रुपैयाँ रकम गन्दा ४ लाख ३६ हजार भारतीय रुपैयाँ कम भेटियो। त्यसपछि बैंकले आन्तरिक छानबिन सुरु गरेको थियो।

अगस्ट ९ बाट सुरु भएको अडिटका क्रममा भारतीय ५०० रुपैयाँ दरका नक्कली नोटका १४८ बन्डल भेटिएका थिए। प्रत्येक बन्डलमा १ हजार नोट थिए। थप परीक्षण र गणना गर्दै जाँदा नक्कली नोटको कुल मूल्य करिब २७ करोड नेपाली रुपैयाँ बराबर पुगेको हो।

प्रारम्भिक अनुसन्धानमा वास्तविक नोट निकालेर त्यसको ठाउँमा नक्कली नोट राखिएको हुन सक्ने आशंका गरिएको छ। बैंकको करन्सी चेस्टभित्रको सीसीटीभी फुटेज पनि अनुसन्धानको महत्वपूर्ण आधार बनेको छ। फुटेजमा चेस्टमा काम गर्ने हाउसकिपर विशाल कुमारले नोटका बन्डलबाट नोट निकालिरहेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।

घटनामा बैंकका तीन अधिकारी-रवि कुमार कन्साय, सुशील शर्मा र अमित कुमार-विरुद्ध मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई बैंकले निलम्बन गरेको छ। हाउसकिपर विशाल कुमारविरुद्ध पनि छुट्टै उजुरी परेको छ। उनीहरूमाथि नक्कली मुद्रा, आपराधिक विश्वासघात र ठगीसम्बन्धी धारामा अनुसन्धान भइरहेको छ।

घटनाको गम्भीरता बढेपछि उत्तर प्रदेश प्रहरीले विशेष अनुसन्धान टोली (SIT) गठन गरेको छ। अनुसन्धानकर्ताले नक्कली नोट कहाँबाट आए, वास्तविक नोट कसरी बाहिरिए र घटनामा अरू कर्मचारीको संलग्नता छ कि छैन भन्नेबारे अनुसन्धान गरिरहेका छन्।

बैंकको सबैभन्दा सुरक्षित मानिने तिजोरीमै यति ठूलो रकमका नक्कली नोट कसरी पुगे? यही प्रश्नले अहिले भारतीय बैंकिङ क्षेत्रलाई झस्काएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्