PRABHU BANK

अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन हुँदै, विजेता टोलीलाई नगद १ लाख

काठमाडौँ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्ने भएको छ । उक्त समितिले यही २०८१ असोज ३ गतेदेखि ५ गतेसम्म संविधान दिवसको अवसरमा दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्ने भएको हो ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूबीच हुने उक्त टुर्नामेन्टमा महिलातर्फ २३ वटा र पुरूषतर्फ ३७ वटा गरी जम्मा ६० वटा टिमको सहभागिता रहनेछ । यही भदौ ३० गते आइतबार एक समारोहकाबीच उक्त टुर्नामेन्टको महिला तथा पुरूषतर्फको समूह विभाजन तथा ट्रफी सार्वजनिक गर्ने कार्य सम्पन्न भएको छ ।

प्रभु बैंक मुख्य प्रायोजक रहेको यस टुर्नामेन्टको सह-प्रायोजकको रुपमा कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आइएमइ बैंक, आइसिएफसी फाइनान्स्, महालक्ष्मी विकास बैंक, नबिल बैंक, एनएमबि बैंक, साइन रेसुंगा विकास बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंक रहेका छन् । उक्त टुर्नामेन्टमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि मेडिकल पार्टनर, वोटलर्स नेपाल लिमिटेड र एसिएन थाइ फुड्स प्रालि विभरेज पार्टनर तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीमा पार्टनरको रुपमा रहनेछन् । टुर्नामेन्ट हाँडीगाँउ स्थित धनयन्तरी स्पोट हवमा सञ्चालन हुनेछ ।

नेपाल राष्ट्र बैंक सहित १९ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा वित्त कम्पनी एवम् आयोजक टोली सहभागी हुने उक्त टुर्नामेन्टको नकआउट तथा फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमबाट गरिने छ । महिला तथा पुरुष तर्फको विजेता टोलीले रु १ लाख नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले रु ५० हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यता, पुरुष तर्फको उपाधि रक्षाको लागि एनआइसी एसिया बैंक तथा महिला तर्फको उपाधि रक्षाको लागि ग्लोबल आइएमइ बैंकले प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणको उत्साहजनक सहभागिता तथा सकारात्मक प्रतिक्रिया पश्चात समितिले दोस्रो संस्करण सञ्चालन गर्ने निर्णय गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै