काठमाडौँ । बैंकको ब्याज घटेको घट्यै भए पनि ऋणको माग नहुँदा बैंकरहरु चिन्तित बनेका छन् । जति ब्याज घटाउँदा पनि बैङ्कहरुमा ऋणको माग हुनुपर्नेजति नभएपछि बैंकरहरु चिन्तित बनेका हुन् ।
ब्याज घटे पनि व्यवसाय गर्ने वातावरण नभएको भन्दै अहिले व्यवसायीहरु थप लगानी गर्न डराईरहेका छन् भने ऋण लगानी नहुँदा बैंकमा पैसा थुप्रिएर बैंकहरु चिन्तित बनेका छन् ।
बैंकर्स संघका अध्यक्ष सुनील केसी ब्याज घट्दा पनि ऋणको माग नहुनु चिन्ताको विषय भएको बताउँछन् । ‘ब्याज घटेको घट्यै छ, अझै घट्ने सम्भावना छ । तर जति ब्याज घट्दा पनि कर्जाको माग नहुनु चिन्ताको विषय हो ।’ बिहिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले भने, ‘ब्याज घट्दा पनि ऋणको माग नहुँदा अहिले हामी सबै बैंकहरु चिन्तित छौँ ।’
बैंकरहरुका अनुसार ऋणको माग नभएपछि अहिले बैंकरहरु ‘रिकभरी’मा जोड दिन थालेका छन् । नयाँ ऋण प्रवाह भन्दा पनि पूरानो ऋण असुलीमै केन्द्रित भईरहेको बैंकरहरु बताउँछन् ।
बैंकरहरुका अनुसार गत माघ महिनादेखि नै कर्जा विस्तार लगभग ठप्प छ । ऋण लगानी नहुँदा बैङ्कहरु अफ्ट्यारोमा परेका छन् भने थप ब्याज घटाउने तयारीमा छन् । अधिकांश बैंकहरुले यहि कारण बैसाखमासमेत ब्याज घटाउने तयारी गरिसकेका छन् ।
तर, व्यवसायी भने ऋण लिएर व्यवसाय गर्ने अवस्था नबनेकाले बैंकमा पैसा थुप्रिएको बताउँदै आएका छन् ।