काठमाडौँ। वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका हुन्।
बैंकहरूले मंसिर महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । ६ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर मंसिर महिनाका लागि ०.११ प्रतिशत बिन्दुले घटेर ३.८७ प्रतिशतमा झरेको छ । यता संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ०.१ प्रतिशत बिन्दुले घटेर २.९७ प्रतिशतमा कायम भएको छ ।
ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् भने ब्याजदर स्थिर राख्नेमा एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनआईसी एसिया बैंक रहेका छन्।



