काठमाडौँ। कुमारी बैंक ‘पार्टनरसीप फर कार्बन एकाउन्टिङ फाइनान्सियलमा’ आबद्ध भएको छ। बैंकले पीसीएएफमा आबद्ध हुँदै जिम्मेवार बैंकिङ्ग, जलवायु कार्य तथा आफ्नो वित्तीय गतिविधिबाट हरितगृह ग्यास उत्सर्जनलाई बुझ्ने र व्यवस्थापन गर्ने विषयमा थप पारदर्शिताप्रतिको प्रतिबद्धता गरेको छ ।
पीसीएएफको सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्बजानिकरुपमा प्रकाशन गर्न पीसीएएफका विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधिहरू प्रयोग गर्नेछ ।
यो पहलले बैंकको जलवायु सम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ । न्यून-कार्बन तथा जलवायु-उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणलाई सहयोग गर्न वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । पीसीएएफमा आबद्ध भएर कुमारी बैंकले आफ्नो लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता अभिवृद्धि गर्ने र त्यसबाट प्राप्त जानकारीलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनासम्बन्धी पहलमा उपयोग गर्ने लक्ष्य राखेको छ ।
पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो, जसले ऋण तथा लगानीमार्फत हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन तथा खुलासा गर्न सहजीकरण गर्दछ । यसको बढ्दो विश्वव्यापी सञ्जालले वित्तीय संस्थाहरूलाई वित्तीय लगानीसँग सम्बन्धित उत्सर्जन मापन गर्न तथा जलवायु सम्बन्धी पारदर्शिता सुधार गर्न साझा ढाँचा प्रदान गर्दछ । कुमारी बैंकका लागि एऋब्ँ को सदस्य बन्नु यसको व्यापक दिगोपनसम्बन्धी यात्रामा महत्वपूर्ण प्रगति हो । यसले बैंकको व्यवसाय तथा वित्तीय गतिविधिमा वातावरणीय पक्षलाई समावेश गर्ने प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्दछ ।
कुमारी बैंक लिमिटेडका सस्टेनेबल बैंकिङ्ग विभागका प्रमुख अर्पण पौडेलले भने, ‘पीसीएएफमा आबद्ध हुनु कुमारी बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा हो । हाम्रो वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनलाई बुझ्नाले जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन र उत्थानशील तथा दिगो अर्थतन्त्रतर्फ अघि बढाउन सहयोग गर्ने क्रममा तथ्य र जानकारीमा आधारित परिपक्व निर्णय लिन टेवा पुग्नेछ ।’



