काठमाडौँ। नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार २ सय ४९ रूपैंया सहयोग प्रदान गरेको छ। भोटेकोशी लगायत विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक विपद् बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले लघुवित्तले २सो रकम सहयोग गरेको हो ।
संस्थाका अध्यक्ष राजकुमार राई, प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेल, सहायक कार्यकारी प्रमुख ऋषि प्रसाद न्यौपाने, बरिष्ठ प्रबन्धक रघुनाथ सुवेदी तथा कम्पनी सचिव एवं जनशक्ति व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठ सहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त राहत रकम हस्तान्तरण गरेका हुन् ।
विपदमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै संस्थाले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता भएका व्यक्तिहरूको यथाशीघ्र खोजी तथा उद्धार कार्य सफल होस् भन्ने कामना गरिएको छ।
राहत रकम हस्तान्तरणका क्रममा संस्थाका अध्यक्ष राजकुमार राईले लघुवित्त संस्थाहरू भुइँमान्छेको घर-घरमा पुगेर सेवा तथा वित्तीय पहुँच विस्तारमा समर्पित रहने भएकाले खाँचो परेको समयमा पनि समाज र समुदायसँगै उभिनुपर्ने बताए । विपद्को समयमा सबै पक्षले आफ्नो क्षमता र सामर्थ्य अनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले नेरूडे मिर्मिरे सदैव मानवीय हितका कार्यमा सकारात्मक र सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले ‘ग्राहक सदस्य पहिलो’ भन्ने मूल नीतिलाई आत्मसात् गर्दै नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्जा तथा बचतको वित्तीय कारोबारमा मात्र सीमित नरही वित्तीय साक्षरता, संस्थागत सामाजिक उत्तरदायित्व तथा ग्राहक संरक्षणका विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको बताए । आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी र बृहत्तर रूपमा विस्तार गर्दै लैजाने उनले प्रतिबद्धता व्यक्त गरे ।
संस्थाका सञ्चालकहरू, कर्मचारी परिवार तथा संस्थाको तर्फबाट गरिएको सामूहिक योगदानबाट उक्त सहयोग रकम जुटाइएको हो। संस्थाले विपद्को यस कठिन घडीमा भाइचारा, आत्मीयता, सहकार्य र मानवीय संवेदनाको भावनासहित सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने सन्देशसमेत दिएको छ।


