शाइन रेसुङ्गा र नबिल बैंकलाई अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र नबिल बैंकले भारतको प्रतिष्ठित इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा आयोजित चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६ मा उत्कृष्ट बैंकको सम्मान प्राप्त गरेका छन्।

नयाँदिल्लीमा आयोजित कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विकास बैंकतर्फ ‘बेस्ट डेभलपमेन्ट बैंक’ अवार्ड जितेको छ। यससँगै बैंकले ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट पर्फर्मेन्स अन ग्रोथ’ गरी तीन विधामा पुरस्कार हात पारेको छ।

यस्तै, नबिल बैंकले वाणिज्य बैंकतर्फ ‘बेस्ट बैंक’ अवार्ड प्राप्त गरेको छ।

आयोजकका अनुसार अवार्डका लागि नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका बैंक तथा वित्तीय संस्थाहरूबीच प्रतिस्पर्धा भएको थियो। सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवसाय विस्तार, नाफा, नवप्रवर्तन, ग्राहक सेवा तथा समग्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरिएको थियो।

अवार्ड छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय बनाउन प्राइस वाटरहाउस कूपर्स (PwC) का विज्ञहरू सम्मिलित स्वतन्त्र निर्णायक मण्डल गठन गरिएको आयोजकले जनाएको छ।

सन् १९२५ मा स्थापना भएको इण्डियन चेम्बर अफ कमर्स दक्षिण एसियामा व्यापार, लगानी तथा वित्तीय सहकार्य प्रवर्द्धन गर्ने प्रतिष्ठित संस्थामध्ये एक हो। यस संस्थाले हरेक वर्ष बैंकिङ तथा वित्तीय क्षेत्रका उत्कृष्ट संस्थाहरूलाई विभिन्न विधामा सम्मान गर्दै आएको छ।

यस वर्ष शाइन रेसुङ्गा र नबिल बैंकले प्राप्त गरेको अन्तर्राष्ट्रिय सम्मानलाई नेपालको बैंकिङ क्षेत्रको विश्वसनीयता र प्रतिस्पर्धी क्षमता अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्