काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै सिन्धु विकास बैंक लिमिटेड माथि कारबाही गरेको छ। बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक सुपरिवेक्षण प्रतिवेदन अनुसार बैंकमा संस्थागत सुशासन, पुँजीकोष तथा नियामकीय निर्देशन कार्यान्वयनमा गम्भीर कमजोरी भेटिएपछि कारबाही गरिएको हो।
राष्ट्र बैंकका अनुसार बैंकले एकीकृत निर्देशन, २०८० विपरीत बैंक खरिद (Acquisition) सम्बन्धी प्रक्रिया अघि बढाएको, करिब रु. २ करोड ५० लाख बराबरको शेयर खरिद गर्ने निर्णय गरेको तथा व्यक्तिगत जमानीमा कर्जा प्रवाह गरी नियामकीय व्यवस्था उल्लङ्घन गरेको पाइएको छ। साथै, सूचीकृत कर्जामा सामान्य ब्याज मात्र असुल गर्ने निर्णयसमेत सञ्चालक समितिबाट गरिएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार यी निर्णयले संस्थाको हित, निक्षेपकर्ता, लगानीकर्ता तथा सर्वसाधारणको हितमा प्रतिकूल असर पार्ने देखिएको छ। साथै, बैंकले न्यूनतम पुँजीकोष अनुपात (Capital Adequacy Ratio) ११.२० प्रतिशतभन्दा कम कायम गरेको पनि राष्ट्र बैंकको निरीक्षणमा भेटिएको छ।
यस्तै, बैंकले वार्षिक वित्तीय विवरण समयमै लेखापरीक्षण सम्पन्न नगरी वार्षिक साधारणसभा समेत ढिलो गरेको पाइएको छ, जुन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, कम्पनी ऐन तथा नेपाल राष्ट्र बैंकका नियामकीय व्यवस्थाविपरीत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यी कमजोरीका आधारमा नेपाल राष्ट्र बैंकले सिन्धु विकास बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम सचेत गराएको छ। साथै, न्यूनतम पुँजीकोष अनुपात कायम गर्न तथा नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्न शीघ्र सुधारात्मक कारबाही (Prompt Corrective Action) अन्तर्गत आवश्यक निर्देशनसमेत दिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रचलित कानुन, एकीकृत निर्देशन तथा सुशासनसम्बन्धी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिँदै यस्ता कमजोरी दोहोरिए थप कडा कारबाही गरिने संकेत गरेको छ।



