काठमाडौँ। नेपाल वित्तीय संस्था कर्मचारी संघ (FIEUN) ले सानिमा क्यापिटल लिमिटेडकी कम्प्लाइन्स अफिसर रश्मी रिजालको मृत्यु घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। संघले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र प्रमाणमा आधारित छानबिन गर्न माग गरेको हो ।
संघले सोमबार जारी गरेको ध्यानाकर्षण विज्ञप्तिमा रिजालको आत्मदाहको घटनाले सम्पूर्ण वित्तीय क्षेत्रका कर्मचारीलाई स्तब्ध बनाएको उल्लेख गर्दै दिवंगतप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। संघका कार्यबाहक अध्यक्ष परशुराम खनाल र महासचिव विकास श्रेष्ठले जारी गरेक विज्ञप्ति अनुसार घटनासम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक भए पनि वास्तविक कारण, कार्यस्थलको वातावरण, संस्थागत व्यवहार तथा सम्बन्धित पक्षको भूमिकाबारे सत्यतथ्य अझै सार्वजनिक भइसकेको छैन । त्यसैले अनुमानका आधारमा निष्कर्ष निकाल्नु उपयुक्त नहुने भए पनि परिवारले उठाएका प्रश्न, कम्पनी व्यवस्थापनको भूमिकाबारे देखिएका जिज्ञासा तथा अनुसन्धान प्रक्रियाप्रतिको सार्वजनिक चासोले घटनालाई थप गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
संघले पछिल्लो समय बैंक, बीमा, लघुवित्त, पुँजीबजारलगायत वित्तीय क्षेत्रमा कर्मचारीमाथि बढ्दो कार्यचाप, सीमित जनशक्तिबाट अत्यधिक काम गराउने प्रवृत्ति, अव्यावहारिक कार्यसम्पादन लक्ष्य, लामो कार्यसमय तथा मानसिक स्वास्थ्यप्रति संस्थागत बेवास्ता गम्भीर चिन्ताको विषय बनेको जनाएको छ।
यस्ता अवस्थाले कर्मचारीको मानसिक स्वास्थ्य, पारिवारिक जीवन, पेशागत आत्मविश्वास र कार्यक्षमतामा नकारात्मक असर परेको संघको भनाइ छ।
विज्ञप्तिमा कुनै पनि संस्थाको व्यावसायिक उपलब्धिभन्दा कर्मचारीको जीवन, सम्मान, मानसिक सुरक्षा र मानवअधिकार सर्वोपरि हुने स्पष्ट धारणा व्यक्त गर्दै नेपालको संविधान, श्रम ऐन–२०७४ तथा सुरक्षित र मर्यादित कार्यस्थलसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न रोजगारदाताको दायित्व रहेको स्मरण गराइएको छ । कर्मचारीमाथि हुने मानसिक उत्पीडन, अस्वस्थ कार्यसंस्कृति, अनावश्यक दबाब तथा संस्थागत असंवेदनशीलता स्वीकार्य हुन नसक्ने संघले जनाएको छ।
यस घटनाका सन्दर्भमा संघले सम्बन्धित निकायसमक्ष पाँच बुँदे माग अघि सारेको छ । संघले रश्मी रिजालको मृत्यु घटनाको निष्पक्ष, स्वतन्त्र, पारदर्शी, वैज्ञानिक तथा प्रमाणमा आधारित छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । अनुसन्धानबाट मानसिक उत्पीडन, दुर्व्यवहार, लापरबाही वा कानुनविपरीत कार्य भएको पुष्टि भए दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने पनि संघको माग छ।
त्यसैगरी, नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगायतका नियामक निकायले पुँजीबजार तथा वित्तीय क्षेत्रमा कर्मचारीको कार्यबोझ, कार्यस्थलको वातावरण, मानसिक स्वास्थ्य र श्रमअधिकारको अवस्थाबारे विशेष अध्ययन गरी आवश्यक सुधारात्मक कदम चाल्नुपर्ने संघले जनाएको छ।
संघले बैंक, वित्तीय संस्था, बीमा तथा पुँजीबजार क्षेत्रमा स्वस्थ कार्यसंस्कृति, पर्याप्त जनशक्ति, व्यावहारिक कार्यसमय, सुरक्षित कार्यस्थल तथा मानसिक स्वास्थ्य संरक्षणसम्बन्धी प्रभावकारी मापदण्ड लागू गर्न नियामक निकायलाई आग्रह गरेको छ । साथै सबै रोजगारदाताले मानसिक स्वास्थ्य संरक्षण, मनोसामाजिक सहयोग, गुनासो सुनुवाइ प्रणाली तथा उत्पीडनमुक्त कार्य वातावरण सुनिश्चित गर्ने नीति तत्काल लागू गर्नुपर्ने माग पनि गरेको छ। संघले यो घटनालाई एउटा व्यक्तिगत दुर्घटनाका रूपमा सीमित नगरी वित्तीय क्षेत्रमा बढ्दो कार्यचाप, कर्मचारीको मानसिक स्वास्थ्य, श्रमअधिकार र संस्थागत उत्तरदायित्वसँग जोडिएको गम्भीर विषयका रूपमा लिएर सरकार, नियामक निकाय, रोजगारदाता संस्था तथा सबै सरोकारवालाले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएको छ।


