बैंकको एसएमएस सम्झेर लिंक खोल्दा ३४ लाख बढी ठगी, एसएमएस पठाउने गिरोह सक्रिय !

काठमाडौँ। बैंकको एसएमएस सम्झेर लिंक खोल्दा ३४ लाख ८० हजार रुपैयाँ ठगी भएको पाइएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले सार्वजनिक गरेको विवरण अनुसार केही महिनायता बैंक तथा डिजिटल वालेट प्रयोगकर्तालाई लक्षित गर्दै ‘द अलर्ट’ जस्ता आधिकारिक देखिने एसएमएस पठाउने गिरोह सक्रिय भएको हो ।

सन्देशमा ‘तपाईंको खाता ब्लक भएको छ’, ‘केवाइसी अपडेट गर्नुहोस्’ वा ‘खाता प्रमाणीकरण गर्नुहोस्’ भन्दै लिंक पठाइन्थ्यो। धेरै सेवाग्राहीले बैंककै सन्देश ठानेर लिंक खोले, मोबाइल बैंकिङको युजरनेम, पासवर्ड र ओटिपी प्रविष्ट गरे। त्यसपछि ठगहरूले खातामा पहुँच प्राप्त गरी रकम विभिन्न बैंक खाता र डिजिटल वालेटमार्फत निकाल्ने गरेका थिए।

यसै प्रकृतिको घटनामा साइबर ब्युरोले ३४ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा १३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। बैंकको नामबाट आएको जस्तो देखिने एसएमएसमा रहेको लिंकमा क्लिक नगर्नुहोस्। ओटिपी, पिन र पासवर्ड कसैलाई पनि नदिनुहोस्।

बजारमा हरेक दिन नयाँनयाँ खालका ठगीहरु देखिँदैछन्।

‘बैंक कर्मचारी’ बनेर फोन, ओटिपी मागेर खाताबाट रकम चोरी
नेपाल प्रहरी साइबर ब्युरोका अनुसार पछिल्लो समय ठगहरूले आफूलाई बैंकको कर्मचारी भनेर परिचय दिँदै ग्राहकलाई फोन गर्ने प्रवृत्ति बढेको छ। उनीहरूले एटिएम कार्ड नवीकरण, केवाईसी अपडेट, रिवार्ड पोइन्ट वा खाता ब्लक भएको बहाना बनाउँदै ओटिपी, सिभीभी र मोबाइल बैंकिङको विवरण माग्ने गरेका छन्।
धेरै ग्राहकले विश्वास गरेर ओटिपी बताएपछि केही मिनेट मै खाताबाट रकम विभिन्न खातामा ट्रान्सफर भएको उजुरी प्रहरीमा परेको छ। यसबारे साइबर ब्युरोले पटक-पटक सार्वजनिक चेतावनी जारी गरेको छ।
सचेतना: बैंकले फोन गरेर ओटिपी, पिन, सिभीभी वा पासवर्ड माग्दैन। यस्तो फोन आए तुरुन्तै काट्नुहोस् र बैंकलाई जानकारी दिनुहोस्।
बजारमा हरेक दिन नयाँ-नयाँ खालका ठगीहरु देखिँदैछन्। डिजिटल बैंकिङ ठगीबाट जोगिन यो सन्देश आफ्ना साथीभाई, परिवार र आफन्तलाई अवश्य सेयर गर्नुहोला ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै