काठमाडौँ। नेपाल राष्ट्र बैंकले सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको छ । वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको हो।
क्रेडिट कार्ड वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंक र वित्त कम्पनीले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो ।
सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समयसीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन । तर, निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्ने उल्लेख छ ।
त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसाल्न समेत केन्द्रीय बैंकले आग्रह गरेको छ । क्रेडिट कार्डबारे खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य सर्त र अवस्थाहरू बुझ्नुपर्ने उल्लेख छ ।

