राष्ट्र बैंकका गभर्नर पौडेल सार्क फाइनान्स मिटिङमा सहभागी, नेपालमा विद्युतीय भुक्तानी विकासबारे गराए अवगत !

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेल भुटानको थिम्पुरमा आयोजित ४९औं सार्क फाइनान्स गभर्नर ग्रुप मिटिङमा सहभागी भएका छन्।

असार २५ र २६ गते भुटानको पारोमा आयोजित बैठकको पहिलो दिन भुटानका अर्थमन्त्री ल्यान्पो लेके दोर्जीले उद्घाटन मन्तव्य र रोयल मनिटरी अथोरिटी अफ भुटानका गभर्नर याङ्चेन सोग्यलले स्वागत मन्तव्य राखेका थिए।

बैठकमा ‘एडभान्सिङ रिजनल फाइनान्सियल इन्टिग्रेसन थ्रो डिजिटल पेमेन्ट कनेक्टिभिटी एन्ड इनोभेसन’ विषयमा प्यानल छलफल भएको राष्ट्र बैंकले जनाएको छ। छलफलमा गभर्नर पौडेलसँगै भुटान र श्रीलंकाली केन्द्रीय बैंकका गभर्नर र रिजर्व बैंक अफ इन्डियाका डेपुटी गभर्नर सहभागी थिए। सो अवसरमा गभर्नर पौडेलले पछिल्लो समय नेपालमा भएका विद्युतीय भुक्तानी प्रणालीको विकास र अन्दरदेशीय भुक्तानीमा भएका प्रयासबारे जानकारी दिए। बैठकको दोस्रो सत्रमा सहभागी केन्द्रीय बैंकका प्रतिनिधिका तर्पmबाट ‘इनबेल्यर्स एन्ड च्यालेन्जेज् इन एडभान्सिङ क्रसबोर्डर पेमेन्ट इन्टरपेराबिलिटी’ विषयमा प्रस्तुति दिइएको थियो।

भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले नेपालको अन्तरदेशीय भुक्तानीको स्थितिबारे प्रस्तुति दिएका थिए। बैठकको दोस्रो दिन सार्क फाइनान्स गभर्नर ग्रुप मिटिङ आयोजना गरिएको थियो। सो अवसरमा सार्क क्षेत्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर र अन्य प्रतिनिधिको सहभागिता थियो । बैठकलाई सम्बोधन गर्दै गभर्नर पौडेलले हाल नेपालमा राजनीतिक स्थायित्व कायम रहेको उल्लेख गर्दै बाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्वको अवस्था सबल रहेको जानकारी दिए।

तथापि, अन्तर्राष्ट्रिय भूराजनीतिक प्रभावका कारण मूल्यस्थितिसँगै समग्र अर्थतन्त्रमा चुनौती कायमै रहेको उनको भनाइ थियो । बैठकमा सहभागी अन्य केन्द्रीय बैंकका प्रतिनिधिका तर्फबाट आ–आफ्नो मुलुकको आर्थिक तथा वित्तीय स्थितिबारे जानकारी दिइएको थियो। बैठकका क्रममा सार्क क्षेत्रमा अन्तरदेशीय भुक्तानी प्रणालीको सबलीकरणका निम्ति सहभागी गभर्नरले जोड दिएका थिए।

बैठकमा सार्क क्षेत्रमा जलवायु लगानी तथा दिगो विकास, वित्तीय समावेशीकरण, सार्क मुलुकबीच ‘करेन्सी स्वाप’को ढाँचा, साझा अनुसन्धान र तथ्यांक प्रणाली, सार्क छात्रवृत्ति र आगामी कार्यदिशाका विषयमा सहभागीबीच छलफल भएको थियो। बैठकका दौरान गभर्नर पौडेलले भुटानका अर्थमन्त्री दोर्जीसँग अलग्गै भेटवार्ता गरेका थिए। बैठकमा सहभागी भई गभर्नर पौडेल असार २८ गते स्वदेश फर्किएको राष्ट्र बैंकले जनाएको छ।

बैठकमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारी, गभर्नरको कार्यालयका निर्देशक शरण कुमार अधिकारी र उप-निर्देशक स्वेच्छा शाक्यसमेत सहभागी थिए। सार्क फाइनान्स दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा आबद्ध मुलुकका केन्द्रीय बैंकका गभर्नर तथा अर्थ सचिवहरूको सञ्जाल हो। सार्क राष्ट्रबीच समष्टिगत आर्थिक नीतिको विषयमा छलफल र पारस्परिक सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सन् १९९८ मा सार्क फाइनान्स स्थापना भएको हो।

सन् २००२ जनवरीमा काठमाडौंमा सम्पन्न ‘एघारौं सार्क शिखर सम्मेलन’ ले सार्क फाइनान्सलाई औपचारिक मान्यता दिएको थियो।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै