काठमाडौँ। वाणिज्य बैंकहरुले कर्मचारीको तलबभत्तामा ५५ अर्ब रुपैयाँ बढी खर्च गरेका छन्। चालु आर्थिक वर्ष २०८२-८३ को ११ महिना (साउन-जेठ) सम्म कर्मचारीको तलबभत्तामा वाणिज्य बैंकहरुले ५५ अर्ब रुपैयाँ बढी खर्च गरेका हुन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको जेठसम्म कुल ५५ अर्ब १३ करोड १६ लाख रुपैयाँ खर्च गरेका हुन्।
अघिल्लो वर्ष २०८१-८२ को यही अवधिसम्मको तुलनामा बैंकहरुको खर्च ३.७६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले कर्मचारीको तलबभत्तामा ५३ अर्ब १३ करोड ३१ लाख रुपैयाँ खर्च गरेका थिए।
समीक्षा अवधिसम्म सबैभन्दा बढी खर्च गर्नेमा राष्ट्रिय वाणिज्य बैंकहरु रहेको छ भने खर्च वृद्धिका हिसाबले सिटिजन्स बैंक अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा १५ वटा बैंकको खर्च बढेको छ भने ५ वटाको घटेको छ। एउटा बैंकको खर्च भने स्थिर देखिएको छ।
चालु आर्थिक वर्षको जेठसम्म राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको तलबभत्ता सर्वाधिक ४ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ८९ करोड ७६ लाख रुपैया खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको यस्तो खर्च १६.५९ प्रतिशतले बढेको छ।

