बैंकिङ संसार सम्पादकीय : के एउटा बैंकरको ज्यानको मूल्य एक करोड र एउटा नाथे जागिर हो ? अव गम्भीर बनौँ !

काठमाडौँ। केहि समय अघि कुमारी बैंकका कर्मचारी जंगलमा मृत भेटिए । बैंकको अडिट विभागका कर्मचारी भरत थापाले तनाव सहन नसकेर आफुले आफैँलाई मारे । बैंकको तनाव सहन नसकेर उनले प्राण त्यागेको भन्दै परिवार प्रहरीसम्म पुग्यो । तर सो अनुसन्धान अहिलेसम्म अगाडी बढेको छैन । बरु मृतककी श्रीमतीलाई जागिर दिएर सो प्रकरण सामसुम पार्ने  दुस्साहस गरियो । आफु जेल जाने डरले कुमारी बैंकका सीइओ रामचन्द्र खनालले कर्मचारी विनियमावलीमा कतै नभएको व्यवस्था टेकेर मृतककी श्रीमतीलाई जागिर दिए । जे नहुनु भईसक्यो भनेर केसलाई सल्टाउन खोजियो । घरमा कमाउने मान्छे नै बितेर गएपछि मृतककी श्रीमतीसँग त्यहि जागिरमा सम्झौता गर्ने बाहेक विकल्प पनि भएन सायद ।
तर, के एउटा बैंकरको ज्यानको मूल्य यति नै हो ? उ किन मर्यो ? आफुले आफैंलाई मार्ने जस्तो क्रुर निर्णय गर्न उ किन बाध्य भयो ? उसलाई कसले मर्न बाध्य बनायो ? के यसको जवाफ चाहिन्न ? अव के भोलि अर्को मान्छे पनि यसै गरी मर्यो भने फेरी उसकी श्रीमतीलाई जागिर दिएर बाँकी सबै कुरा मिलान हुन्छ ? के यो न्याय भयो ? उसको विभागीय प्रमुखमाथि कुनै अनुसन्धान गर्नु पर्दैन ? उसको सीइओ अनुसन्धानमा आउनुपर्दैन ? दुई चार हजारको हिसाब बिग्रिदा बैंकको तल्लो तहका कर्मचारीलाई बैंकिङ कसुर लाग्ने अनि एउटा बैंकर मर्दा पनि उसका हाकिमहरुमाथि अनुसन्धान नहुने, कानुनी राज्यमा यस्तो पनि विभेद हुन्छ ? यो त हद भएन र ?
कुमारी बैंकको केसमा कोहि सिरियस भएन । परिणाम पिताम्बर खड्काले त्यहि बाटो रोजे । थाहा छैन, अरु कति भरत थापाहरु जंगलमा मृत भेटिने हुन् । कति पिताम्बरले पासो लगाउने हुन् । अनि के बैंकका कर्मचारी प्रेसर सहन नसकेर मारिरहने अनि बैंकले जागिर र केहि करोडको लोभ देखाएर केस मिलाईरहने ? अनि विवस परिवार, केहि नहुनु भन्दा त्यहि जागिर भए पनि हुन्छ भनेर निरीह बनिरहने ? के यो देश उनीहरुका लागि होइन ? के यो देशको बैंकिङ सिष्टममा उनीहरुको कुनै योगदान छैन ? के बैंकले कमाएको नाफामा उनीहरुकै पसिना मिसिएको होइन र ?
भरत र पिताम्बरहरु त मरेर गए, यहाँ थुप्रै बैंकरहरु बाँचेर पनि मरिरहेका छन् । के उनीहरु पनि भोलि यसैगरी मरे भने अनुसन्धान नगर्ने र जागिर र केहि पैसा दिएर केस सल्टाउने हो ? के यति सस्तो भईसक्यो बैंकरको जागिर ? अव गम्भीर भएर सोच्ने बेला भएन र ? के एउटा बैंकरको ज्यानको मूल्य एक करोड र एउटा ‘नाथे’ जागिर हो ? सरकार र राष्ट्र बैंक गम्भीर बनोस् । हामीले फेरी पनि बैंकरले प्राण त्याग गरेको खबर सुनाउन नपरोस् ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै