बैंक निक्षेपमा बीमा कम्पनीको विश्वास बढ्दै

काठमाडौं । पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा बीमा कम्पनीहरूको लगानी उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्म बीमा कम्पनीहरूले बैंकको मुद्दति निक्षेपमा ६ खर्ब ७६ अर्ब ३८ करोड ३५ लाख रुपैयाँ लगानी गरेका छन्।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पुससम्म बीमा कम्पनीहरूको यस्तो लगानी ६ खर्ब २८ अर्ब ११ करोड ६९ लाख रुपैयाँ रहेको थियो। वार्षिक आधारमा हेर्दा बीमा कम्पनीहरूको लगानी ७.६८ प्रतिशतले वृद्धि भएको हो।

हाल देशमा १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ४ वटा लघु निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा तथा २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्।

यसैबीच, चालु आर्थिक वर्षको पुससम्म कर्मचारी सञ्चय कोषले बैंकहरूको मुद्दति निक्षेपमा १ खर्ब ८१ अर्ब ९६ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कोषको लगानी १ खर्ब ८१ अर्ब ७२ करोड ४० लाख रुपैयाँ थियो। यस आधारमा कोषको लगानी ०.१३ प्रतिशतले बढेको देखिन्छ।

नागरिक लगानी कोषले पनि समीक्षा अवधिसम्म बैंकहरूको मुद्दति निक्षेपमा १ खर्ब ४२ अर्ब ११ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कोषको लगानी १ खर्ब २३ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ थियो। यस अवधिमा कोषको लगानी १.५० प्रतिशतले वृद्धि भएको छ।

यस्तै, समीक्षा अवधिसम्म बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको कुल निक्षेप ४८ खर्ब ९० अर्ब १५ करोड ९२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा सर्वसाधारणको निक्षेप ४२ खर्ब ३८ अर्ब ६४ करोड ६७ लाख रुपैयाँ रहेको थियो। वार्षिक रूपमा सर्वसाधारणको निक्षेप १५.३७ प्रतिशतले बढेको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै