DISH HOME

सिद्धार्थ बैंकको प्रचारका नाममा विज्ञापन एजेन्सी ब्लिज मिडियाको ‘गैरकानुनी धन्दा’, एजेन्सी भन्छ-‘गल्ती भयो’

काठमाडौँ । सिद्धार्थ बैंकको प्रचारका नाममा विज्ञापन एजेन्सी ब्लिज मिडियाले गरेको गैरकानुनी कार्य सार्वजनिक भएको छ। विज्ञापनलाई समाचारको स्वरूपमा प्रकाशन वा प्रसारण गर्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनि उक्त एजेन्सीले सिद्धार्थ बैंकको विज्ञापनलाई समाचारको रूपमा तयार गरी विभिन्न मिडियाहरुलाई पठाएको खुलेको हो।

ब्लिज मिडियाले बैंकको प्रशंसा गर्ने खालका सामग्री तयार गरी मिडियाहरुलाई “समाचारको रूपमा” छाप्न दबाब दिएको र इमेलसमेत पठाएको प्रमाण फेला परेको छ। पत्रकार आचारसंहिता र विज्ञापन सम्बन्धी कानुनले यस्तो गतिविधिलाई स्पष्ट रूपमा निषेध गरेका छन्। यदि एडभर्टोरियल सामग्री छाप्न परे पनि त्यसको स्पष्ट सूचना सामग्रीमै उल्लेख गर्नुपर्ने व्यवस्था भए पनि ब्लिज मिडियाले त्यसको उल्लंघन गरेको देखिन्छ।

स्रोतका अनुसार, बैंकको ‘भजन’ गाउने शैलीमा तयार पारिएको सामग्री मिडियाहरुलाई पठाएर एजेन्सीले आफ्नो विज्ञापनको काम अघि बढाउने प्रयास गरेको हो।

यता, एजेन्सी स्वयंले पनि गल्ती भएको स्वीकार गरेको छ। ब्लिज मिडियाका प्रतिनिधि सोम श्रेष्ठले आफ्नै इमेलबाट मिडियाहरुलाई पठाइएको सामग्रीबारे भने – ‘हाम्रोमा कन्टेन्ट तयार थियो। नयाँ भाइले नबुझी मेरै इमेलबाट सबैलाई पठाईदिएछ। यो गल्ती हो, हामी सच्याउँछौं।’

श्रेष्ठले आफूले मिडियाहरुलाई फोन गरेर उक्त सामग्री नछाप्न अनुरोध गरेको दाबी गरे पनि, ती सामग्री मध्ये केही पहिले नै विभिन्न अनलाइन मिडियामा प्रकाशित भइसकेका छन्।

उता, विज्ञापन बोर्डले पनि यस्तो कार्य गैरकानुनी भएको पुष्टि गरेको छ। बोर्डका एक अधिकारीका अनुसार, यस्ता गतिविधिबारे उजुरी प्राप्त भएमा तत्काल कारवाही प्रक्रिया अघि बढाइनेछ। ब्लिज मिडिया र सोम श्रेष्ठविरुद्ध उजुरी दर्ता गर्ने तयारी समेत भइरहेको बताइएको छ।

ब्लिज मिडियाले लामो समयदेखि सिद्धार्थ बैंकको विज्ञापन व्यवस्थापन गरिरहेको छ। तर, यो घटनामा कम्पनीले बैंकको गुणगान गाउने शैलीमा तयार सामग्री मिडियामा पठाएर गैरकानुनी लाभ लिन खोजेको आरोप लागेको छ। कम्पनीका केही कर्मचारीका अनुसार, उक्त सामग्रीउपर कम्पनीले मोटो रकम लिने तयारी थियो ।

तर सोम श्रेष्ठले भने यस्तो कुनै आर्थिक लेनदेन नभएको दाबी गर्दै भने, ‘बैंकबाट त्यस सामग्रीका लागि हामीले कुनै पनि रकम लिएका छैनौं।’

सिद्धार्थ बैंकले भने घटनाबारे आफूहरुलाई कुनै जानकारी नभएको जनाएको छ।

यस घटनाले विज्ञापन व्यवसायमा नियमन र पारदर्शिताको आवश्यकता फेरि एकपटक सतहमा ल्याएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै