काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जारी गरेको ‘शाइन रेसुङ्गा डिबेञ्चर’ शीर्षकको १० वर्षे अवधिको, वार्षिक ८ प्रतिशत ब्याजदर भएको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ। कुल १० लाख कित्ता रहेको यो ऋणपत्र साउन ८ गते निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालय, लाजिम्पाटमा बाँडफाँड गरिएको हो।
ऋणपत्रमा अपेक्षाभन्दा धेरै आवेदन परेका थिए। कुल निष्काशन रकमको ५.९५ गुणा बढी आवेदन प्राप्त हुनुले नेपाली लगानीकर्ता तथा वित्तीय बजारप्रतिको विश्वास झल्किएको बैंकको भनाइ छ।
यस ऋणपत्रमा ६० प्रतिशत निजी संस्थागत लगानीकर्ता र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको थियो। असार ३२ गतेदेखि साउन ४ गतेसम्म खुला गरिएको निष्काशनमा विभिन्न संघसंस्थासँगै आम नागरिकहरुको उल्लेख्य सहभागिता रह्यो।
हालैका दिनहरूमा सर्वसाधारण लगानीकर्ताहरू ऋणपत्रजस्ता सुरक्षित लगानी माध्यमप्रति आकर्षित भइरहेका छन्। यसले नेपालमा पूँजी बजारप्रतिको चेतना र विश्वास बन्दै गएको संकेत गर्छ।
बैंकले ऋणपत्र निष्काशन सफलताका साथ सम्पन्न भएसँगै आफ्नो पूँजी संरचना सुदृढ भएको र आगामी दिनमा ग्राहकहरूलाई अझ प्रभावकारी, नविन तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता दोहोर्याएको छ।
निष्काशन प्रक्रिया सफल बनाउन सहयोग गर्ने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, संलग्न सबै सहयोगी निकाय तथा पत्रकार जगतलाई बैंकले आभार प्रकट गरेको छ।