काठमाडौँ । एफवान सफ्ट ग्रुप अन्तर्गतको ‘फोन-पे’ सर्भिस लिमिटेडको २० प्रतिशत सेयर व्यवसायी राजेन्द्र खेतानले खरिद गर्ने भएका छन् । व्यवसायी राजेन्द्र खेतानको नेतृत्वमा रहेको हाउस अफ राजले नेपालकै प्रमुख फिनटेक कम्पनी फोन पे सर्भिसेज लिमिटेड मा २० प्रतिशत सेयर किन्ने सम्झौता गरेको हो ।
राष्ट्र बैंक स्रोतका अनुसार १ अर्ब ४० करोड रुपैयाँमा भएको यो सम्झौता दुई महिना अघि सम्पन्न भइसकेको हो । उक्त सम्झौता राष्ट्र बैंकको स्वीकृतिको प्रक्रियामा रहेको छ ।
खेतानले ‘फोन पे’को सेयर खरिदका लागि प्रतिकित्ता १३ सय ८६.१३ रुपैयाँ खर्चिन तयार भएका हुन् । फोन पेको चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँ रहेको छ ।
जसअनुसार कम्पनीको कुल मूल्यांकन ७ अर्ब रुपैयाँ गरिएको छ । ७ अर्ब रुपैयाँ मूल्यांकन गर्दा कम्पनीको सेयर प्रतिकित्ता १३८६.१३ रुपैयाँ पर्न आउँछ । जसबाट फोन पेको १० लाख १० हजार कित्ता अर्थात २० प्रतिशत कित्ता खरिद गर्नेछन् ।