prabhu

हुप्सेकोटका ५६ बालिकालाई पाँच हजारसहितको बैंक खाता उपहार

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित हुप्सेकोट गाउँपालिकाले गाउँभित्र जन्मिएका ५६ जना बालिकालाई पाँच–पाँच हजार रुपैयाँसहितको बैंक खाता उपहार दिएको छ। ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा जन्मिएका बालिकाहरूका नाममा बैंक खाता खोली रकम जम्मा गरिएको हो।

गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेका अनुसार, स्थायी बसोबास गर्ने दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्मदर्ता गरेपछि गाउँपालिकाले छोरीका नाममा खाता खोलेर नगद पाँच हजार जम्मा गरिदिन्छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५६ जना बालिकाको खातामा कूल दुई लाख ८० हजार रुपैयाँ निकासा गरिएको उनले जानकारी दिइन्। साथै, अभिभावकलाई पनि छोरीको खातामा कम्तीमा थप पाँच हजार रुपैयाँ जम्मा गर्न प्रेरित गरिने बताइएको छ।

अध्यक्ष पाण्डेले छोरीहरूको उच्च शिक्षा अध्ययनका बेला खर्च गर्न मिलोस् भन्ने उद्देश्यले बचत संस्कार विकास गर्न यो कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिन्। ‘यसले छोरीहरूको भविष्य सुरक्षित हुनुका साथै भ्रूण हत्या रोक्न र समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरता विकास गर्न सहयोग पुर्‍याउने विश्वास लिएका छौं,’ उनले भनिन्।

हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि यो कार्यक्रम सुरु गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीका अनुसार, कार्यक्रम सुरू भएयता हालसम्म ३१२ जना बालिका लाभान्वित भइसकेका छन्।

आर्थिक वर्ष २०७७/७८ मा ३८ जना, २०७८/७९ मा ५९ जना, २०७९/८० मा ९७ जना र २०८०/८१ मा ६२ जना बालिकाका खातामा रकम जम्मा गरिएको छ।

स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले कार्यक्रमले गर्भवती महिलाहरूमा नियमित स्वास्थ्य परीक्षण गराउने, अस्पतालमा सुत्केरी गराउने, र समयमै बच्चाको जन्मदर्ता गराउने जस्ता सकारात्मक व्यवहार विकास भएको बताए।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै