काठमाडौँ । वाणिज्य बैंकहरुले सवा ३० अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१-८२ को मंसिरसम्मको तथ्यांकअनुसार बैंकहरुले ३० अर्ब २४ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । जुन गत आर्थिक वर्षको मंसिर मसान्तसम्मको तुलनामा ६.६ प्रतिशतले बढी हो।
समीक्षा अवधिसम्म कृषि विकास बैंक घाटामा गएको छ भने बाँकी १९ वटा वाणिज्य बैंक नाफामा गएका छन्। कृषि विकास बैंक ३५ करोड २४ लाख रुपैयाँ घाटामा रहेको छ।
यता, नबिल बैंकले सबैभन्दा धेरै ३ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा ग्लोबल आईएमई बैंकले २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ४९ करोड १० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले १ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ९९ करोड ३२ लाख, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड २ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ९० करोड ६४ लाख रुपैयाँ र प्रभु बैंकले १ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड ४५ लाख, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६४ करोड ७ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब ३४ करोड ८७ लाख, नेपाल बैंकले १ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ९७ करोड ९० लाख रुपैयाँ, सानिमा बैंकले ९० करोड ४१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७१ लाख रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेशनलले ६९ करोड ४९ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ६३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका छन् ।