National

एनआईसी एशिया बैंकले ल्यायो किया ब्राण्डका गाडी किन्नेहरुका लागि नयाँ कर्जा योजना

  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंक र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिबीच सम्झौता भएको छ । बैंक र इन्टरप्राइजेजबीच फाइनान्सिङ पार्टनर बनाउने सम्बन्धि सम्झौता भएको हो । किया ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि रहेको छ । 
एनआईसी एशिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका तर्फबाट सहायक निर्देशक आशिष पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
सम्झौता पछि किया ब्राण्डका कार बिक्री गर्दा कम्पनीले यस बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले किया ब्राण्डका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने भएको छ । बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत व्याजदर र ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत किया ब्राण्डका कारहरू ग्राहकहरूले खरिद गर्न सक्ने जनाएको छ । 
यो सुविधा भने रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद गर्न चाहेने ग्राहकहरूले लिन सक्नेछन् । बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकहरूलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ । यस सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम २ करोड रुपैयाँ सम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था रहेको छ । 
बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने सम्झौता बैंक र ट्रेडिङबीच भएको छ । यो सुविधा उक्त कम्पनीका देशभर रहेका सम्पूर्ण डिलरहरूबाट ग्राहकहरूले लिन सक्ने व्यवस्था पनि रहेको छ । 
यस सँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुवै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ । बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात पहिलो वर्षसम्म कर्जाको व्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले व्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ । 
१ वर्ष पछि बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको व्याजदर कायम गर्ने व्यवस्था गरेको छ । बैंकले उक्त कर्जा सम्बन्धी सल्लाह, सुझाव, गुनासो र जिज्ञासा आदिको निराकरण गर्ने उद्देश्यले ‘सवारी कर्जा सहायता डेस्क’ को स्थापना पनि गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै