काठमाडौँ। सुनको मूल्यमा गिरावट आएपछि बजारमा सुन किन्नेहरूको आकर्षण बढेको छ। सर्वसाधारणदेखि बैंक तथा वित्तीय संस्थासम्म सुन खरिद गर्ने होडमा लागेका छन्।
मूल्य घटेको मौकालाई सदुपयोग गर्दै बैंकरहरूले समेत सुन खरिदमा चासो देखाउन थालेका छन्। बैंकरहरू सेयर र घरजग्गाभन्दा सुन किन्ने दौडमा देखिएका छन्।
कारोबारको अघिल्लो दिनको तुलनामा मंसिर ४ गते सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला २५७६०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १२ हजार २०० रुपैयाँले घटेर २४५४०० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपालमा सुनको मूल्य निरन्तर घट्दै जाँदा सुन खरिद गर्ने क्रम बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा समेत परेको छ।
मूल्य घट्दा किन बढ्यो सुनप्रति आकर्षण ?
सुनलाई विश्वभर सुरक्षित लगानीको माध्यम मानिन्छ। आर्थिक अनिश्चितता, मुद्रास्फीति, युद्ध तथा भूराजनीतिक तनावका बेला लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुने गरेका छन्। पछिल्लो समय मूल्यमा आएको गिरावटलाई कतिपय लगानीकर्ताले सस्तो मूल्यमा सुन सञ्चित गर्ने अवसरका रूपमा हेरेका छन्।
विशेषगरी विश्वका केन्द्रीय बैंकहरूले आफ्नो विदेशी मुद्रा सञ्चितिलाई विविधीकरण गर्न सुनको मात्रा बढाउँदै आएका छन्। अमेरिकी डलरमा निर्भरता कम गर्ने र दीर्घकालीन वित्तीय जोखिमबाट बच्ने उद्देश्यले पनि विभिन्न देशका केन्द्रीय बैंकले सुनलाई प्राथमिकता दिएका हुन्।
विश्व सुन परिषद्को तथ्यांकअनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा विश्वका केन्द्रीय बैंक तथा आधिकारिक संस्थाहरूले आफ्नो सञ्चितिमा ३२१ टन सुन थपेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशत बढी हो।



