काठमाडौँ। बैंकिङ संसारले ‘मिसिङ बैंकर ट्रयाकर’ सार्वजनिक गर्दै भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका बैंकरहरूको विवरण, तस्वीर र समाचार सार्वजनिक गर्न थालेको छ । हराइरहेका बैंकरहरूको तस्वीर सामाजिक सञ्जालमा देखिन थालेपछि उनीहरूका आफन्त र सहकर्मीका लागि त्यो तस्वीर सूचना मात्रै नभइ एउटै तस्वीरले घरपरिवारलाई आशा पनि दिएको छ ।
कतिपय परिवारका सदस्यहरू सामाजिक सञ्जालमा तस्वीर हेर्दै आफ्ना मान्छे सकुशल फर्किने प्रतीक्षामा छन् भने कतिपयले तस्वीरमुनि भावुक प्रतिक्रिया लेख्दै ‘चाँडै फर्केर आऊ’, ‘हामी तिमीलाई कुरिरहेका छौं’, ‘सकुशल भएको खबर देऊ’ जस्ता शब्दमार्फत आफ्नो मनको पीडा पोखिरहेका छन् ।
समाचारमा आफ्नै दाजु, भाइ, छोरा, श्रीमान्, छोरी वा जीवनसाथीको तस्वीर देखिनु आफैंमा परिवारका लागि नराम्रो क्षण बनेको छ । तर, यही तस्वीर अहिले खोजी अभियानको एउटा माध्यम पनि बनेको छ ।
कार्यालयको कुर्सी खाली छ, मोबाइलमा फोन उठ्दैन
बैंकमा नियमित काम गर्ने कर्मचारीका लागि कार्यालय एउटा जागिर गर्ने स्थान मात्रै हुँदैन । त्यहाँ सहकर्मी हुन्छन्, दैनिक भेटघाट हुन्छ, जिम्मेवारी बाँडिन्छ र व्यक्तिगत सम्बन्ध पनि विकास हुन्छ । तर, बाढीपछि कतिपय बैंकका कार्यालयमा ती कर्मचारीको कुर्सी खाली छ ।
दैनिक ग्राहकसँग कारोबार गर्ने कर्मचारी आज बैंकमा छैनन् । फोनको घण्टी बज्छ, तर फोन उठ्दैन । म्यासेज पठाइन्छ, तर जवाफ आउँदैन । परिवारसँग सम्पर्क हुन सकेको छैन । सहकर्मीले बारम्बार मोबाइलमा नम्बर डायल गर्छन्, तर कुनै आवाज आउँदैन ।
यस्तो अवस्थाले बैंकिङ क्षेत्रभित्र गहिरो मानसिक तनाव सिर्जना गरेको छ । ‘उनी कहाँ होलान् ? कुनै सुरक्षित स्थानमा त होलान् ?, ‘उद्धार भएर कतै अस्पतालमा त छैनन् ? ‘सम्पर्क गर्न नसकेको मात्रै हो कि ?’ यस्तै प्रश्नले परिवार र सहकर्मीलाई निरन्तर पिरोलिरहेको छ ।
बैंकहरू पनि आफ्ना कर्मचारीको खोजीमा
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीको अवस्थाबारे जानकारी संकलन गर्न थालेका छन् ।
शाखा कार्यालयका कर्मचारीसँग सम्पर्क गर्ने, परिवारसँग समन्वय गर्ने, उद्धार भएका तथा अस्पतालमा रहेका व्यक्तिको सूची जाँच गर्ने र उपलब्ध सूचनाका आधारमा कर्मचारीको अवस्था पत्ता लगाउने प्रयास भइरहेको छ । बाढीले रसुवाका विभिन्न स्थानमा बैंकिङ संरचनासमेत प्रभावित पारेको विवरण सार्वजनिक भएको छ । बाढीले बैंकिङ पूर्वाधारमा क्षति पुर्याएको छ ।


