काठमाडौँ। एनआईसी एसिया क्यापिटलले आर्थिक वर्ष २०८३-८४ का लागि नयाँ डिम्याट खाता खोल्ने ग्राहकहरूलाई निःशुल्क डिम्याट सेवा र पहिलो वर्षको नवीकरण शुल्कमा पनि छुट दिने भएको छ। क्यापिटलले विगत लामो समय देखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान संचालन गरी रहेको छ ।
पछिल्लो समयमा प्रविधिको अधिकतम् प्रयोग गर्दै एनआईसी एशिया क्यापिटलले निक्षेप सदस्य अन्तर्गतका सम्पूर्ण सेवाहरु डिजिटलाइज रुपमा उपलब्ध गराउनुको साथै एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत डिम्याट तथा मेरो सेयर खाता खोल्ने, नविकरण गर्ने लगायत निक्षेप सदस्य अन्तर्गतका अधिकांश सेवाहरु उपलब्ध गराइरहेको छ ।
क्यापिटलबाट प्रदान गरिने सेवाहरु चुस्त दुरुस्त गरी ग्राहकमुखी बनाई सहज र सर्वसुलभ रुपमा आफ्नो सेवाहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ क्यापिटलले आर्थिक वर्ष २०८३-८४ मा निक्षेप सदस्य सेवा अन्तर्गत निःशुल्क डिम्याट तथा मेरो शेयर खाता सेवा सहित निम्न अनुसारका योजनाहरु संचालन गर्न लागेको जनाएको छ ।
निक्षेप सदस्य अन्तर्गत आ.व. २०८३-०८४ मा संचालित योजना तथा सुविधाहरूः
नि:शुल्क डिम्याट खाता
एनआईसी एशिया क्यापिटल तथा क्यापिटलका शाखा कार्यालयहरु मार्फत डिम्याट खाता खोल्ने ग्राहकहरूलाई निःशुल्क डिम्याट खाता खोल्ने सुविधा उपलब्ध गराउनुका साथै पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा पूर्ण छुट गरिएको छ ।
निःशुल्क डिम्याट, मेरो सेयर शुल्कसहितको एनआईसी एशिया विद्यार्थी डिम्याट खाता सेवा :
विद्यार्थीहरूलाई धितोपत्र बजारसम्बन्धी सचेतना अभिवृद्धि गर्दै उनीहरूलाई लगानीतर्फ आकर्षित गर्न तथा धितोपत्र बजारमा सहभागी गराउने उद्देश्यले क्यापिटलले आर्थिक वर्ष २०८३/८४ मा ‘एनआईसी एशिया विद्यार्थी डिम्याट सेवा’ योजना सञ्चालन गरेको छ र उक्त योजना अन्तर्गत खोलिएका सम्पूर्ण विद्यार्थी डिम्याट खाताहरूमा निम्नानुसारका सुविधा तथा छुट गरिएको छ ।
एनआईसी एशिया विद्यार्थी डिम्याट योजना अन्तर्गतका छुटहरु
- नि:शुल्क डिम्याट खाता ।
- पहिलो वर्षको डिम्याट खाता नविकरण शुल्कमा छुट ।
- निःशुल्क मेरो शेयर खाता रजिस्ट्रेशन
सीमित अवधिका लागि आजीवन डिम्याट तथा मेरो सेयर नवीकरण अफर
प्रत्येक वर्ष डिम्याट खाता नविकरण शुल्क बापत रु.१०० र मेरो सेयर खाता संचालन गरे बापत रु.५० बुझाउनु पर्ने व्यवस्था रहेको तथा उक्त नविकरण शुल्क भुक्तानी नगरेको अवस्थामा सम्बन्धित खातावालाको डिम्याट खाता फ्रिज हुने र मेरो सेयरको अनलाइन सेवा बन्द हुने भएको हुँदा क्यापिटलले नयाँ तथा विद्यमान हितग्राही खातावालाहरूले एकमुष्ट रु.९९९ भुक्तानी गर्दा आजीवन डिम्याट खाता नवीकरण गरिदिने व्यवस्था मिलाएको छ भने मात्र रु.१,००० एकमुष्ट भुक्तानी गर्दा आजीवन मेरो सेयर खाता नवीकरण गरिदिने सेवा संचालनमा ल्याएको छ ।
उक्त आजीवन डिम्याट र मेरो सेयर सुविधा मिति २०८३ श्रावण मसान्तसम्म उपलब्ध हुनेछ ।
एनआईसी एशिया बैंकको बचत खातासँग डिम्याट खाताको आबद्धता
एनआईसी एशिया बैंक मार्फत डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई मध्येनजर गर्दै क्यापिटलले एनआईसी एशिया बैंकको शाखा कार्यालयहरु मार्फत बैंकले निःशुल्क तोके बमोजिमका बचत खाता प्रयोग गरी डिम्याट खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्षको डिम्याट खाताको नविकरण शुल्कमा छुट सहित निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खाता खोल्ने व्यवस्था मिलाइएको छ ।
एनआईसी एशिया क्यापिटलले पछिल्लो समयमा आफ्नो सेवाहरुलाई प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरुलाई क्यापिटलको सेवा ‘लाइनमा होइन , अनलाइनमा’ भन्ने नारा सहित क्यापिटलको अधिकांश सेवाहरु अनलाइन मार्फत लिन मिल्ने व्यवस्था मिलाइएको हुँदा क्यापिटलको वेवसाइट मार्फत सहजै निःशुल्क रुपमा डिम्याट र मेरो सेयर खाता खोल्न सकिने जनाएको छ ।


