काठमाडौँ । गैरकानुनी काम गरेको पाइएपछि राष्ट्र बैंकको कारवाहीमा परिसकेको र सर्वोच्च अदालतको फैसला अनुसार अयोग्य ठहर भएको भनिएका रामचन्द्र खनालले नेतृव गरेको कुमारी बैंकमा प्रचलित कानुनविपरित १८ जनालाई गैरकानुनी रुपमा बढुवा गरेको पाइएको छ । बैंकले आफ्नै विनियमावलीको धज्जी उडाउँदै यस्तो काम गरेको पाइएको हो ।
१८ जनाको पुनर्नियुक्ति यसरी भयो गैरकानुनी !
बैंकको एचआर विभागले बैंकिङ संसारलाई दिएको जानकारी अनुसार बैंकमा बढुवाका दुई विकल्प हुन्छन् । पहिलो भनेको, ती कर्मचारीहरुलाई उनीहरुको कामको मूल्यांकन अनुसार उनीहरुलाई बढुवा गरिनुपर्छ, जुन सामान्य प्रक्रिया पनि हो । अनि, दोश्रो भनेको भ्याकेन्सी निकालेर उनीहरुसमेतलाई परीक्षा दिन लगाई, नाम निकाल्न लगाएर उनीहरुलाई माथिल्लो तहमा नियुक्ति दिन सकिन्छ, जुन पनि स्वाभाविक प्रक्रिया हो ।
तर एक पटक यो सूची हेर्नुहोस् त

बैंकिङ संसार डटकमलाई बैंकको एचआर विभागका कर्मचारीले नै गोप्य रुपमा उपलब्ध गराएको यो सूचीमा १८ जनाको मात्र सूची छ, जसका कारण यसलाई नियमित बढुवाको सूची भन्न मिलेन । किन मिलेन भने बढुवा हुँदा बैंकले छुट्टै बढुवासूची नै निकाल्छ । यो बढुवा सूची होइन भन्ने देखाउन बैंकले यो सूचीलाई एक्सटर्नल भ्याकेन्सी भनेको छ । तर, न बैंकले कतै भ्याकेन्सी निकालेको छ, न भ्याकेन्सी उपरका प्रक्रिया निभाएको छ । बैंकले बरु सिधै आफु निकटका कर्मचारीलाई २३ जनवरी २०२६ सम्म अहिलेकै पोजिसनमा काम गर्ने र त्यसपछि १२ फेब्रुअरीबाट अर्को पदमा काम गर्ने भनेको छ, जुन पूरापूर गैरकानुनी छ भन्ने तर्क बैंककै एचआर विभागका कर्मचारीहरुको छ ।
बैंकिङ संसारलाई प्राप्त मेमोमा बैंकका डेपुटी सीइओ सुधिरनाथ पाण्डे र बैंकका सीइओ रामचन्द्र खनालले सहि गरेका छन् ।
यता बैंकका सूचना अधिकारीले भने सबै काम कर्मचारी बाइलज अनुसार नै हुने र प्रक्रिया पूरा नगरी बढुवा वा पुनर्नियुक्ति नहुने दाबी गरे । तर, यसरी सरासर मनपरी हुँदा पनि बैंकलाई राष्ट्र बैंकले कारवाही नगर्नुले कुमारी बैंकको बदमासी आउँदा दिनहरुमा पनि नरोकिने पीरले कर्मचारीहरुलाई सताएको छ ।

