काठमाडौँ। दुर्गा प्रसाईंले आफ्नो कारण बैंकको ब्याजदर घटेको बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो अभियानका कारण बैंकहरुको ब्याजदर घटेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा प्रसाईंले देशभर सञ्चालन गरेको बैंक तथा वित्तीय संस्थाविरुद्धको अभियानले सरकार, नेपाल राष्ट्र बैंक र बैंकहरूलाई नीति पुनरावलोकन गर्न बाध्य बनाएको दाबी गरे। ‘हामीले उठाएको आवाज र सडकबाट दिएको दबाबका कारण बैंकहरू ब्याजदर घटाउन बाध्य भएका हुन्,’ उनले भने, ‘यदि जनताको पक्षमा उभिएर हामीले संघर्ष नगरेको भए ब्याजदर यति चाँडो घट्ने थिएन।’
पछिल्लो समय बैंकहरूले आधारदर (बेस रेट) घटाउँदै कर्जाको ब्याजदरमा केही कमी गरेका छन्। निक्षेपको ब्याजदरसमेत क्रमशः घट्दो क्रममा रहेको छ। यसलाई लिएर प्रसाईंले आफूहरूको आन्दोलनले प्रत्यक्ष प्रभाव पारेको जिकिर गरे। उनले उच्च ब्याजदरका कारण उद्योगी, व्यवसायी तथा सर्वसाधारण ऋणीहरू मर्कामा परेको उल्लेख गर्दै बैंकिङ प्रणालीलाई जनमुखी बनाउन आवश्यक रहेको बताए।
प्रसाईंले बैंकहरूले चर्को ब्याज असुली गरी सर्वसाधारणलाई आर्थिक रूपमा थिचिरहेको आरोप लगाए। उनले बैंक तथा वित्तीय संस्थाहरूले ऋणीमाथि अन्यायपूर्ण व्यवहार गरेको, धितो लिलामी प्रक्रिया आक्रामक बनाएको तथा साना व्यवसायीलाई विस्थापित गर्ने खालका कदम चालेको दाबी गरे। ‘हामी ऋणीको पक्षमा छौं। बैंकको एकाधिकार र मनपरीविरुद्ध हाम्रो अभियान जारी रहनेछ,’ उनले स्पष्ट पारे।

