काठमाडौँ। नेपाल भ्यालुअर्स एसोसिएशन (एनभिए) ले नेपाल बैंक लिमिटेडले मूल्यांकनकर्ता सूचीकृत गर्न प्रकाशित गरेको सूचनाप्रति गम्भीर आपत्ति जनाएको छ।
एसोसिएशनले एक सूचना जारी गर्दै गम्भीर आपत्ति जनाएको हो। उक्त सूचनामा उल्लेख गरिएका प्रावधानहरू नेपाल बैंकर्स एसोसिएशन ( एनबिए ) र नेपाल भ्यालुअर्स एसोसिएशन (एनभिए) बीच वि.सं. २०७४ मा भएको सम्झौताको मर्म, भावना तथा सहमतिविपरीत रहेको दाबी गरेको छ।
प्रेस विज्ञप्तिमार्फत एसोसिएशनले नेपाल बैंकलाई सम्झौताअनुसारको प्रक्रिया तत्काल कार्यान्वयन गर्न आग्रह गरेको छ।
अन्यथा आफ्ना सदस्यहरूको हक, हित तथा पेशागत अधिकारको संरक्षणका लागि नेपाल बैंक लिमिटेडविरुद्ध कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ।
एसोसिएशनका अध्यक्ष इन्जिनियर सञ्जयकुमार महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल बैंकले एकपक्षीय रूपमा अघि बढाएको प्रक्रिया तत्काल सच्याउन माग गरिएको छ।
साथै, उक्त प्रक्रियाबाट उत्पन्न हुने सम्पूर्ण क्षति, असर तथा परिणामको जिम्मेवारी नेपाल बैंक लिमिटेड स्वयंले वहन गर्नुपर्ने पनि एसोसिएशनले स्पष्ट गरेको छ।

