अब वालेट खोल्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ। नेपाल राष्ट्र बैंकले वालेट खोल्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको अनुमतिप्राप्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्रिय परिचपत्र अनिवार्य समावेश गर्नुपर्ने व्यवस्था थप गरेको हो।

अब भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्थाले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार राष्ट्रिय परिचयपत्रको विवरण समेत यकीन गरी वालेट खोल्ने व्यवस्था मिलाउनुपर्नेछ।

त्यस्तै संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए-नभएको स्व:घोषणा लिनुपर्नेछ।

राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ।

यसैगरी राष्ट्रिय परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक महिनामा जानकारी दिने व्यवस्था मिलाउनुपर्नेछ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत विद्युतीय वालेट खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका अन्य आवश्यक कागजात लिएरसमेत वालेट खोल्न सक्नेछन्। यसरी खोलिने वालेटका सम्बन्धमा निज वालेट प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित अनुमतिपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै