National

वाणिज्य बैंकका सबै शाखाले विदेशी मुद्राको कारोबार गर्न पाउने

 Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । वाणिज्य बैंकका सबै शाखाले विदेशी मुद्राको कारोबार गर्न पाउने भएको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मार्फत उक्त व्यवस्था गरेको हो । बैंकहरुले विदेशी मुद्रा कारोबार गर्न शाखा अनुसार लाइसेन्स लिने व्यवस्था खारेज गरी एउटै अनुमतिपत्रले नै काम गर्ने व्यवस्था बैंकले गरेको छ । 
उक्त व्यवस्थाअनुसार वाणिज्य बैंकका हरेक शाखाले एक पटक विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिएपछि सबै शाखामार्फत सो कारोबार गर्न पाइने भएको छ । यसअघि हरेक शाखाले छुट्टाछुट्टै विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था थियो । यही कारण बैंकका सीमित शाखाले विदेशी विनिमयको कारोबार गर्दै आएका थिए । यो व्यवस्थाले बैंकहरूलाई हरेक शाखाका लागि लाइसेन्स लिनुपर्ने झन्झट हटेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।
बैंकहरुले विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गर्न वाणिज्य बैंकले एकमुष्ट रुपमा ५ लाख रुपैयाँ बुझाउनु पर्छ । यसैगरी राष्ट्रिय स्तरका विकास बैंकले १ लाख रुपैयाँ, प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरूले २० हजार रुपैयाँ राष्ट्र बैंकलाई बुझाउनु पर्ने व्यवस्था विनियमावलीमा उल्लेख छ । 
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूलाई विदेशी विनिमय खरीद/बिक्री तथा तोकिए बमोजिमको विदेशी विनिमय सम्बन्धी अन्य कार्य गर्ने गरी ५ वर्षका लागि अनुमतिपत्र दिनेछ । विदेशी विनिमय कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले पनि कारोबार गर्न चाहे इजाजतपत्र लिन निवेदन दिन सक्नेछन् । यसरी निवेदन दिँदा कारोबार गर्ने स्थान वा क्षेत्र किटान गरी केन्द्रीय बैंकमा निवेदन दिनुपर्नेछ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्