राष्ट्र बैंकलाई सोधेर सीईओ नियुक्ति !

बिहिबार, २७ मङि्सर २०७५    Banking Sansar



राष्ट्र बैंकलाई सोधेर सीईओ नियुक्ति !

 

काठमाडौँ — बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्नुअघि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गर्न लागिएको छ ।
बैंकले मनपरी ढंगले सीईओ नियुक्ति गर्न थालेकाले विकृति बढेको निष्कर्षका आधारमा राष्ट्र बैंकले यस्तो तयारी थालेको स्रोतले बताएको छ । सीईओ नियुक्तिसम्बन्धी विषयलाई व्यवस्थित बनाउनुका साथै सक्षम र व्यावसायिक ९प्रोफेसनल० उम्मेदवार छनोट होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था ल्याउन लागिएको जनाइएको छ ।

हाल सीईओ नियुक्त गरेपछि मात्र राष्ट्र बैंकलाई जानकारी दिने र वाणिज्य बैंकको सीईओले राष्ट्र बैंकको गभर्नरसमक्ष सपथ लिनुपर्ने व्यवस्था छ । आन्तरिक रूपमा भएको छलफलअनुसार नै निर्णय भए बैंकले सम्भावित सीईओको नाम राष्ट्र बैंक पठाउनुपर्नेछ ।

यसरी राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र बैंक सञ्चालक समितिले सीईओ नियुक्ति गर्नुपर्नेछ । हाल भारतमा यही व्यवस्था छ । भारतको जस्तै व्यवस्था नेपालमा पनि गर्न लागिएको राष्ट्र बैंक स्रोतले बतायो । ‘राष्ट्र बैंकले सीईओ नियुक्त गरिदिने होइन,’ स्रोतले भन्यो, ‘नियुक्ति गर्नुअघि राष्ट्र बैंकको स्वीकृति भने लिनुपर्नेछ ।’ तोकिएको योग्यता तथा अनुभव भएको व्यक्तिलाई कार्यकारी प्रमुखको नियुक्ति गरी सात दिनभित्र राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने व्यवस्था विद्यमान कानुनमा छ ।

सीईओ नियुक्त गर्नुअघि स्वीकृति लिनुपर्ने व्यवस्था सम्बन्धमा राष्ट्र बैंकको नियमन समितिमा छलफल भइसकेको छ । यो राष्ट्र बैंकको एक स्थायी समिति हो ।

राष्ट्र बैंकका दुई वटा डेपुटी गभर्नर सहभागी हुने उक्त समितिमा नियमनलगायत केही प्रमुख विभागका कार्यकारी निर्देशकसहित एघार जनाको सहभागिता रहन्छ । ‘छलफलपछि भुटान, बंगलादेशसहित सार्क क्षेत्रका अन्य राष्ट्रहरूमा के कस्तो व्यवस्था छ, भनेर अध्ययन गर्ने निर्णय भएको छ,’ स्रोतले भन्यो, ‘हाम्रो उद्देश्य जसरी भए पनि योग्य सक्षम व्यक्ति छनोट होस् र बैंकहरूले मनपरी गर्न नपाऊन् भन्ने हो ।’ बैंकले सम्भावित ३ जनाको नाम छनोट गरी पठाउने र तीमध्ये उपयुक्तलाई नियुक्तिका लागि राष्ट्र बैंकले सिफारिस गर्ने व्यवस्थाका लागि पनि छलफल भएको स्रोतले बताएको छ ।

बैंकको सीईओ नियुक्ति विषयमा प्रारम्भिक छलफल भए पनि अन्तिम निर्णय भई नसकेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । ‘यो विषयमा पहिलो चरणको छलफल मात्र भएको हो, यसबारे कुनै पनि निर्णय भएको छैन,’ उनले थपे, ‘यसबारे अन्तर्राष्ट्रिय अभ्यासबारे पनि अध्ययन गर्दै छौं ।’

बैंकको सीईओ नियुक्ति विषयमा राष्ट्र बैंकले हस्तक्षेप गर्न नहुने विज्ञहरू बताउँछन् । सीईओ नियुक्ति विषयमा राष्ट्र बैंकले बैंकलाई स्वतन्त्र छोड्नुपर्ने पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताए । ‘हल्ला आएजस्तो निर्णय राष्ट्र बैंकले गरेमा त्यो कदम पश्चगामी हुनेछ,’ उनले भने, ‘यस्ता सानातिना कुरामा राष्ट्र बैंक लाग्नु हुँदैन ।’

अहिले पनि सीईओ नियुक्तिका मापदण्ड राष्ट्र बैंकले नै तोकेकाले थप ‘माइक्रोम्यानेजमेन्ट’ मा लाग्न नहुने उनको सुझाव छ । ‘बैंकहरूले ब्याजदर १३र१४ प्रतिशत पुर्‍याउँदा खुला बजार भन्दै हस्तक्षेप गर्न नसक्ने राष्ट्र बैंकले सीईओ नियुक्तिमा हस्तक्षेप गर्नु अनुचित र खुलाबजार विरोधी हो ।’

भारतलगायत केही राष्ट्रमा बैंकले सीईओ नियुक्तिअघि केन्द्रीय बैंकको अनुमति लिनुपर्ने व्यवस्था भए पनि नेपालमा त्यो बेला आइनसकेको पूर्वबैंकर ससिन जोशीले बताए । ‘हाल राष्ट्र बैंकले बैंकको सीईओको योग्यता, अनुभव, कार्यकाल, तलब सुविधालगायत विषयमा सीमा तोकेको छ,’ उनले भने, ‘निर्देशित मापदण्ड पुगेका व्यक्तिमध्येबाट प्रमुख कार्यकारी छनोट गर्ने अधिकार बैंक सञ्चालक समितिलाई नै दिनुपर्छ ।’ ‘सीईओ नियुक्तिअघि राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था मलाई ठीक लागेन,’ उनले थपे ।

त्यसो त हाल राष्ट्र बैंकले वाणिज्य बैंकको सीईओका लागि ६ महिना ‘कुलिङ पिरियड’ को व्यवस्था गरेको छ । यसको अर्थ कुनै एउटा बैंकको सीईओ जागिर छोडेको छ महिनाभित्र अर्को बैंकमा सोही पदमा नियुक्त हुन नपाउने भन्ने हो ।

यस्तै डेपुटी सीईओ र केही उच्च व्यवस्थापकका लागि पनि कुलिङ पिरियडको व्यवस्था गर्ने कि भन्ने सम्बन्धमा पनि राष्ट्र बैंकले तयारी थालेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले उक्त घोषणा गरेको हो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ९बाफिया० मा सञ्चालक समितिले प्रमुख कार्यकारी नियुक्त गर्ने र उसको कार्यकाल बढीमा चार वर्षको हुने व्यवस्था छ । निज अर्को एक कार्यकालका लागि पुनस् नियुक्ति हुन सक्नेछ ।

सञ्चालक समितिले कार्यकारी प्रमुखको कार्यसम्पादन सन्तोषजनक नभएमा निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्ने व्यवस्था पनि ऐनमा छ ।

प्रमुख कार्यकारी नियुक्तिका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ ।

चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी कम्तीमा १० वर्ष अनुभव भएको व्यक्ति सीईओका लागि योग्य हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ । कान्तिपुर दैनिकबाट साभार


प्रतिकृया दिनुहोस